दुई वर्ष अघिको घटनाले अहिले विवादमा परिन आइटम गर्ल

काठमाडौं । नायिका सुष्मा कार्कीले दुई वर्षअघि गरेको कलाकारको आलोचनाका कारण यतिबेला विवाद खेप्नुपरेको छ । त्यो आलोचनालाई हजारौंले टिकटक बनाएर सेयर गरेका छन् । यही टिकटकका कारण अभिनेत्री सुष्मा कार्की अहिले विवादमा परेकी छन् ।

आफूलाई बदनाम गर्न र कलाकारसँग आफ्नो सम्बन्ध बिगार्न केही मानिसहरू लागिपरेका यी अभिनेत्रीले टिप्पणी गरेकी छन् ।

अभिनेत्री सुष्मा कार्कीको एउटा पुरानो अन्तर्वार्ता यतिबेला भाइरस भएको छ । सोही अन्तर्वार्ताका कारण अभिनेत्री पूजा शर्मालगायत कलाकारका अन्य समर्थकले अभिनेत्री सुष्मा कार्कीको सामाजिक सञ्जालमा टिप्पणी गरेका हुन् ।

उनले राजेश हमालको एक्टिङ नराम्रो तर फिल्म चलिरहेको छ भनेकी थिइन् । यस्तै, अभिनेत्री सुष्माले पूजा शर्मादेखि गायिका मेलिना राईसम्मलाई चिन्दिनँ भन्दै दिएको अन्तर्वार्ताले टिकटक बनाएर प्रचारमा ल्याइएको छ । यसलाई सुष्माले नियोजित भनेकी हुन् । मेलिना राई र राजेश हमालका प्रशंसकले पनि टिकटकमार्फत सुष्माको अन्तर्वार्तालाई भाइरल बनाएका छन् ।

यसै विषयमा यी अभिनेत्रीले भनेकी छन्, ‘मैले दुई वर्षअघि दिएको एउटा अन्तर्वार्तालाई अहिले टिकटक बनाएर उडाउने काम गरिएको छ । मैले नै बिर्सिसकेको यो अन्तर्वार्तालाई कसैले नियोजित रूपमा टिकटक बनाएर कलाकारसँग मेरो सम्बन्ध बिगार्न खोजेको हो ।’

अभिनेत्री पूजा शर्मासँग अहिले आफ्नो सम्बन्ध निकै राम्रो भएको सुष्माले बताएकी छन् । पूजाको प्रशंसा गर्दै उनको अभिनय राम्रो भएको पनि सुष्माले जिकिर गरेकी छन् । जब कि त्यो अन्तर्वार्तामा उनले पूजाको अभिनय कमजोर भएको भन्दै टिप्पणी गरेकी थिइन् ।

पूजासँग अहिलेको सम्बन्धबारे अभिनेत्री सुष्माले भनेकी छन्, ‘पूजाले मलाई दिदी भन्छिन् र म उसलाई बहिनी भन्छु । मिडियाहरूले उचालिदिएर हामो सम्बन्ध बिगार्ने प्रयास गरिरहेका छन् ।’

टिकटक बनाएर आफ्नो बदनाम गर्न खोजेपछि अभिनेत्री सुष्माले पनि टिकटकमार्फत नै आफूहरूको सम्बन्ध राम्रो भएको जवाफ दिएकी हुन् । लकडाउनका कारण मानिसहरू घरमा बेकामे भएको र उहिलेको कुरा खोतलेर अहिले सम्बन्ध बिगार्न खोजेको पनि यी अभिनेत्रीको टिप्पणी छ ।

त्यसो त आफूले नायिका पूजाको टिप्पणी गरेको र गायिका मेलिनालाई नचिनेको भन्ने भिडियो अन्तर्वार्ता सम्पादन गर्नसमेत यी अभिनेत्रीले अनुरोध नगरेकी हैनन् । तर, दुई वर्षअघि नै युट्युबमा राखिएको यो भिडियोलाई सम्पादन गर्नतर्फ सम्बन्धित मिडियाले वास्ता नगरेपछि त्यही प्रसंगले यतिबेला सुष्माले टिप्पणी सहनुपरेको हो । त्यो भिडियो अहिलेको नभएको फेरि पनि यी अभिनेत्रीले जिकिर गरेकी छन् । -राजधानी दैनिक

Facebook Comments