एजेन्सी । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले चीनले कोरोना भाइरसको महामारीको समयमा यसको फाइदा उठाउँदै आफ्नो स्वार्थका लागि छिमेकी देशलाई धम्क्याउने तथा सताउने गरिरहेको आरोप लगाएका छन् ।
बेलायत भ्रमणमा रहेका विदेश मन्त्री पोम्पेओले चीनको सत्ताधारी चिनियाँ कम्युनिष्ट पार्टीले महामारीको यो समयमा विश्वलाई सहयोगका लागि जुट्नु पर्नेमा छिमेकी देशमाथि आफ्नो दादागिरी प्रस्तुत गरिरहेको आरोप लगाएका हुन् ।
बेलायतका विदेश मन्त्री डोमिनिक राबसँगको भेटपछि भएको पत्रकार सम्मेलनमा पोम्पेओले चीनसहित विश्वका सबै देशले अन्तर्राष्ट्रिय सीमाका सम्बन्धमा रहेको अन्तर्राष्ट्रिय कानून पालना गर्नु पर्ने बताए ।
उनले साउथ चाइना सी को विवादित क्षेत्रमा चीनले गरेको दाबी वैध नरहेको बताए । गैरकानूनी रुपमा आफ्नो नरहेको क्षेत्रमा चीनले दाबी प्रस्तुत गरेको र यसका लागि छिमेकी देशलाई धम्क्याएको उनको भनाई छ । यस्तै पोम्पेओले चीनले कोरोना भाइरको महामारीका कारण उत्पन्न संकटलाई हाफ्नो हितका लागि प्रयोग गरेको र यो अति लज्जामर्दो कुरा रहेको बताए । चीनले महामारीको सुरुवातमा यसबारेका जानकारी लुकाएको आरोप पुनः लगाएका छन् ।
यसैगरी उनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) चीनको ‘कठपुतली’ बनेको आरोप पनि लगाएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।
Facebook Comments