काठमाडौँ । सीमावर्ती क्षेत्रमा अनधिकृत भौतिक संरचना बनाएर नेपाली भूमि डुबानमा पारेकामा असन्तुष्टि जनाउँदै नेपालले भारत सरकारलाई ‘कूटनीतिक पत्र’ पठाएको छ । नेपालबाट दक्षिणतर्फ बग्ने नदी तथा खोलाको प्राकृतिक बहाव रोकिने गरी भारतले बाँध, तटबन्ध, सडकलगायत संरचना निर्माण गरेको भन्दै परराष्ट्र मन्त्रालयले दुई देशबीच भएका सहमति र सम्झौताको स्मरण गराएर पत्र पठाएको हो ।
सिँचाइ सचिव रवीन्द्रनाथ श्रेष्ठले भारतीय क्षेत्रमा बनेका संरचनाले नेपाली भूभागमा बाढी र डुबान भएको बारे मन्त्रालयले प्राविधिक अध्ययन गरेर भारतीय पक्षसमक्ष जानकारी गराउन परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पत्र लेखेर पठाएको कान्तिपुरलाई जानकारी दिए ।
उनले ऊर्जामन्त्री वर्षमान पुनको निर्देशनअनुसार तत्काल वार्ताका लागि भारतीय पक्षलाई खबर गर्ने पनि बताए । समस्या समाधानबारे भारतीय पक्षसँग अनौपचारिक तहमा कुराकानी भइरहेको उनले जानकारी दिए । नियमित कार्यतालिकाअनुसार बाढी तथा डुबान व्यवस्थापनसम्बन्धी नेपाल–भारत संयुक्त समिति (जेसीआईएफएम) को बैठक नोभेम्बर महिनामा बस्ने गरेको छ । यो वर्ष भने भारतीय पक्षलाई नियमित समयभन्दा अगाडि नै बैठक बस्न भन्ने उनले जानकारी दिए ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले अन्य मन्त्रालयबाट आउने पत्रहरूलाई कूटनीतिक नोटमार्फत सम्बन्धित मुलुकलाई पठाउने काम नियमित भएको बताए । ‘डुबान–बाढीलगायत विषयहरूमा नियमित रूपमा कूटनीतिक नोट पठाउने काम हुन्छ । आवश्यक पर्दा नेपाल र भारत दुवैले कूटनीतिक नोट आदानप्रदान गर्छन् । नेपालले भारतलाई कूटनीतिक नोट पठाउनु नयाँ कुरा होइन,’ उनले भने ।
Facebook Comments