ओली र प्रचण्डबीच ३ घण्टाकाे छलफलमा भयाे यस्ताे सहमति

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको भेटवार्ता सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच झण्डै ३ घण्टाकाे छलफलमा कुनै ठोस सहमति भइनसकेको नेताहरुले बताएका छन् । तर सो वार्तामा रोकिएको स्थायी कमिटि बैठक सुचारु गर्ने र आपसी छलफल पनि कायम राख्ने कुरा भएको स्रोतले बताएको छ ।

नेकपाको स्थायी कमिटि बैठक बुधबार बस्ने छ । यसअघि सोमबारका लागि तय भएको बैठक दुई अध्यक्षबिचको छलफललाई निरन्तरता दिन भन्दै स्थगित गरिएको थियो । प्रधानमन्त्रीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन नेताहरुले स्थायी कमिटी बैठकमा कुरा उठाएपछि उत्पन्न विवाद समाधानका लागि बैठक रोकेर दुई अध्यक्षले छलफल थालेका थिए । लगातार भेटवार्ता भएपछि सहमति हुन सकेको छैन ।

प्रचण्ड र माधवकुमार नेपाल पक्षले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पद छाड्नुपर्ने माग गरेका छन् । तर प्रधानमन्त्री ओलीले दुबै पद नछाड्ने अडान लिएका छन् । विवाद समाधानका लागि २०७६ मंसिर ४ मा भएको सहमतिअनुसार प्रचण्डलाई कार्यकारी अध्यक्षको भूमिका थप प्रष्ट पार्ने ओलीको प्रस्ताव छ ।

शक्ति संघर्षले फुटको संघारमा पुगेको सत्तासिन नेकपाका दुई अध्यक्षबिच रोकिएको स्थायी कमिटि बैठक सुचारु गर्ने सहमति भएपछि विवाद केही हदसम्म मथ्थर हुने अनुमान गरिएकाे छ। ।

Facebook Comments