प्रचण्डलाई राष्ट्रपति भण्डारीकाे जवाफ: संसद अधिवेशनकाे सिफारिस राेक्न सक्दैँन

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न जानुभयो । उहाँको माग थियो– प्रधानमन्त्रीले पठाएको पत्र कार्यान्वयन नगरिदिनुस् ।

राष्ट्रपति भण्डारीले जवाफ दिनुभयो– ‘अहँ, म त्यसो गर्न सक्दिन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्को अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद्बाट निर्णय गराएर राष्ट्रपतिलाई पत्र पठाउनुभएको थियो । अधिवेशन अन्त्य नगरिदिन प्रचण्डले राष्ट्रपतिलाई आग्रह गर्नुभएको थियो ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्ले गर्ने कुनै पनि सिफारिस आफूले रोक्न नसक्ने बताउनुभयो । राष्ट्रपतिको भनाई थियो– ‘प्रधानमन्त्री पदमा जोसुकै व्यक्ति बसेको होस्, मैले मन्त्रिपरिषद्को सिफारिस मान्नैपर्छ । तपाईंहरुले बनाएको संविधानले यही भन्छ । हिजो रामवरणजीले पनि त्यसै गर्नुभयो ।’

अधिवेशन अन्त्यको मिति र समय नै तोकेर पत्र आएपछि आफूले त्यसमा तलमाथि गर्न नसक्ने राष्ट्रपतिले प्रचण्डलाई भन्नुभयो ।

स्रोत अनुसार प्रचण्डको अर्काे आग्रह थियो– अब प्रधानमन्त्रीले अध्यादेश पठाउनुभयो भने जारी नगरिदिनुस् । यो आग्रह पनि राष्ट्रपति भण्डारीले अस्वीकार गर्नुभयो । राष्ट्रपतिको भनाई थियो– ‘म संविधान बाहिर जान सक्दिन । भविष्यमा तपाईं प्रधानमन्त्री बन्नुभयो र म नै राष्ट्रपति रहें भने तपाईंले पठाएको अध्यादेश मैले जारी गर्दिन भन्न मिल्छ ? मन्त्रिपरिषद्ले सिफारिस गरेपछि त्यो मैले मान्नैपर्ने संवैधानिक व्यवस्था छ । मलाई संविधान बाहिर गएर व्यवहार गर्न नलगाउनुस् ।’

राष्ट्रपति भण्डारीले संघीय संसद्बाट पारित भएर आएको विधेयकमा भने आफूले विचार गर्नसक्ने संवैधानिक व्यवस्था रहेको बताउनुभयो । ‘संसद्ले पारित गरेर पठाएको विधेयकमा त्रुटी देखियो, संविधान प्रतिकूल देखियो भने म फिर्ता पठाउन सक्छु तर मन्त्रिपरिषद्को सिफारिस रोक्न सक्दिन । किनभने तपाईंहरुले बनाउनुभएको संविधानमा यही छ’– राष्ट्रपतिको भनाई यस्तो थियो ।

‘संविधानका अगाडि म लाचार छु, मलाई संविधान बाहिर तान्न प्रयास नगर्नुस’– राष्ट्रपतिको भनाई थियो ।

त्यहाँबाट फर्किएर अ‌ाएपछि प्रचण्डले स्थायी समितिका केही सदस्यहरुलाई भन्नुभयाे- हामीले भनेकाे राष्ट्रपतिजीले केही पनि मान्नुहुन्न । सभार: सनराइज खबर बाट