पाकिस्तानमा ४० प्रतिशत नक्कली लाइसेन्स भएका पाइलटले उडाउछन् विमान

एजेन्सी । पाकिस्तानको संघीय उडड्यन मन्त्री गुलाम सरवार खानले पाकिस्तानका ४० प्रतिशत पाइलटसँग नक्कली लाइसेन्स भएको दाबी गरेका छन् । यसअघि कराचीमा भएको विमान दुर्घटनाको अनुसन्धान प्रतिवेदन राष्ट्रिय सभामा पेश गर्ने क्रममा उनीहरु उडान भर्न योग्य नरहेको खुलासा गरेका छन् ।

सम्बोधनका क्रममा उनले २६२ जना पाइलटहरुले आफूले परीक्षा नदिई आफ्नो साटो अरुलाई नै परीक्षा दिन लगाएको बताए । ‘उनीहरुसँग हवाई उडानको अनुभव नै छैन”, उनले भने ।

पाकिस्तानमा ८६० जना सक्रिय आन्तरिक उडान भर्ने पाइलटहरु कार्यरत छन् । मन्त्री खानका अनुसार यसमा पाकिस्तानको राष्ट्रिय ध्वजावाहक पाकिस्तान इन्टरनेसनल एअरलाइन्स र अन्य विदेशी हवाई कम्पनीहरु प्नि समावेश छन् ।

पाकिस्तान इन्टरनेसनल एअरलाइन्स (पीआईए) ले फर्जी लाइसेन्स भएका पाइलटहरुलाई तत्कालै लागू हुने गरी ग्राउन्डेड गरेको छ। नक्कली लाइसेन्सको समस्या केवल पीआईएको मात्रै नभई समग्र पाकिस्तानी हवाई उद्योगमा फैलिएको पीआईएले स्वीकारेको छ । पीआईएका प्रवक्ता अब्दुल्ला खानले पाकिस्तानी हवाई कम्पनीमा मात्रै नभई पाकिस्तानमा उडान गर्ने विदेशी हवाई कम्पनीमा समेत नक्कली पाइलट रहेको दाबी गरे ।

मे २२ मा पाकिस्तानको दक्षिणी सहर कराँचीमा ९७ जनाको ज्यान जाने गरी भएको हवाई दुर्घटनाको अनुसन्धानको नतिजा बुधबार आएको थियो। लाहोरबाट कराँची जाँदै गरेको पीआईएको उक्त विमानमा रहेका दुईजना यात्रु र क्र्यु सदस्यबाहेक सबैको मृत्यु भएको थियो ।

मन्त्री खानले पीआईएको पिके ८३०३ मा उडान भरिरहेका दुईजना पाइलटहरुको लाइसेन्स नक्कली भए नभएका बारेमा भने कुनै जानकारी दिएनन् । रिपोर्टका अनुसार विमान बस्तीनजिक पुग्दै गर्दा पाइलटहरुले एअर ट्राफिक कन्ट्रोलरहरुले दिएको निरन्तरको चेतावनीलाई बेवास्ता गर्दै कोरोनाभाइरससम्बन्धी गफमा मस्त थिए ।

‘उडान अवधिभर पाइलटहरु कोरोनासम्बन्धी गफमा मस्त थिए। उनीहरु उडानमा ध्यान दिइरहेका थिएनन् । आफ्नो परिवार कसरी संक्रमित भयो भनेर बताइरहेका थिए र उनीहरु बढी आत्मविश्वासी देखिएका थिए’, मन्त्री खानले भने, ‘पाइलटहरुलाई विमान धेरै उचाइमा रहेको र ल्यान्ड गर्न उपयुक्त नरहेको भन्दै तीनपटक चेतावनी दिइएको थियो । तर उनीहरुले गम्भीर रुपमा लिएनन्। पाइलटहरुले ल्यान्डिङ गिअर कम नगरीकनै ल्यान्ड गरे अनि दुर्घटना भयो ।’

Facebook Comments