प्रधानमन्त्रीका लागि तीन कराेडकाे गाडी खरिद गरिँदै!

काठमाडौं । प्रधानमन्त्रीका लागि जडान गर्न लागिएको एलटिई र्‍यापिड कम्युनिकेसन सिस्टम खरिदसँगै सो प्रविधि जडान गर्न सुविधा सम्पन्न ‘बुलेट प्रुफ’ गाडी खरिद गर्न नेपाल प्रहरीलाई दबाब दिइएको छ ।

प्रधानमन्त्री कार्यालयले सो कम्युनिकेसन सिस्टम जडानका लागि सुविधा सम्पन्न गाडी खरिद गर्न दबाब दिएको उच्च स्रोतले बताएको छ । प्रधानमन्त्रीको सल्लाहकार समूहको तीव्र दबाबमा सो गाडी खरिदका लागि प्रहरीले गृह मन्त्रालयको स्वीकृतिका लागि टिप्पणी उठाउने तयारी गरेको मुख्यालय स्रोतले जनाएको छ । सो गाडी प्रधानमन्त्रीको सुरक्षाका लागि भन्दै खरिद गर्न लगिएको हो । एफ वान सफ्ट, ई-सेवाका मालिक रहेका प्रधानमन्त्री ओलीका आइटी विज्ञ अस्गर अलीले तयार गरेको सो वोलपत्रमा एलटिई र्‍यापिड कम्युनिकेसन सिस्टम उल्लेख गरिए पनि इएलटिई प्रविधिको उपकरण खरिद गर्न लागेको रहस्य खुलेको छ । इएलटिई सिस्टम हुवावे बाहेक विश्वभर अन्य कुनै कम्पनीले प्रयोग गर्दैनन् । यसमा जडित सिस्टम र पार्टपुर्जाहरू हुवावे बाहेकका कम्पनीसँग विल्कुलै मिल्दैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीका विवादास्पद अवैतनिक आइटी विज्ञ अस्गर अलीले सो सिस्टम जडान गर्न गाडी आवश्यक रहेको र प्रधानमन्त्रीको सुरक्षाका लागि प्रहरीसँग भएका कुनै पनि गाडीमा जडान गर्न नमिल्ने जनाएपछि प्रहरीले गाडी नै खरिद गरेर प्रधानमन्त्रीको सुरक्षाका लागि पठाउने तयारी गरेको हो । नेपालमा टोयोटा कम्पनीको सामान्य फर्च्युनर गाडीको मूल्य पौने दुई करोड पर्छ । तर प्रहरीले किन्न खोजेको ‘बुलेट प्रुफ’ गाडी भने करिब ३ करोड रुपैयाँभन्दा बढी पर्ने जानकारहरूले जनाएका छन् । ‘एलटिई कम्युनिकेसन जडान गर्न बुलेट प्रुफ र सुविधा सम्पन्न गाडी खरिद गर्ने हो भने ३ करोड भन्दा बढी पर्नेछ’, स्रोतले भन्यो ।

यद्यपि प्रहरी मुख्यालयले गत चैत ४ गते बोलपत्र आव्हान गरी सो प्रयोजनका लागि १ करोड ७५ लाख रुपैयाँ दरका दुईवटा सुविधा सम्पन्न गाडी माग गरेको थियो । तर कुल ३ करोड ५० लाख पर्ने ती दुई गाडी आपूर्तिका लागि कुनै पनि कम्पनीले बोलपत्र पेस गरेनन् । टोयोटाको फर्च्युनर गाडी एलटिई र्‍यापिड कम्युनिकेसन सिस्टमलगाएतका सञ्चार उपकरण जडान गरी प्रधानमन्त्री कार्यालयलाई दिनुपर्ने भनेपछि आपूर्तिकर्ता कम्पनीहरू हच्किएको स्रोतले जनाएको छ । ‘गाडी आपूर्तिकर्तालाई यो सञ्चार सिस्टमको बारेमा सामान्य जानकारी रहेनछ । त्यसमा पनि प्रहरीले खरिद गरेर प्रधानमन्त्री कार्यालयलाई दिने भनेपछि अनिच्छा गरेको बुझियो’, प्रहरी मुख्यालय स्रोतले भन्यो ।

प्रहरी प्रवक्ता डिआइजी निरज शाहीका अनुसार कुनै पनि कम्पनीको बोलपत्र नआएका कारण गाडी खरिद प्रक्रिया रद्द गरिएको छ । ‘महत्त्वपूर्ण कार्यक्रमदेखि सुरूङभित्रबाट पनि एलटिई र्‍यापिड कम्युनिकेसन सिस्टममार्फत अडियो भिडियोसहित सञ्चार सम्पर्क बनाउने गरी उपकरण जडान गर्न मिल्ने सवारी साधन माग गरिएबमोजिम कुनै कम्पनीले बोलपत्र पेस नगरेकाले ठेक्का प्रक्रिया रद्द गरिएको हो’ प्रवक्ता शाहीले भने, ‘बुलेट प्रुफ गाडी खरिद गर्ने प्रक्रिया अहिले भएको छैन ।’ तर प्रधानमन्त्री कार्यालयले ‘बुलेट प्रुफ’ गाडी किन्न मुख्यालयलाई दबाब दिएको नेपाल विश्वस्त स्रोतले दावी गरेको छ ।  सभार: नेपाल फ्ल्यास

Facebook Comments