चिनियाँ अतिक्रमणविरुद्ध नेपाली कांग्रेस आक्रामक, भूमि फिर्ताको माग

काठमाडौं । चीनले नेपाली भूमि अतिक्रमण गरेको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आक्रमक बनेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी चीनियाँ कम्युनिस्ट पार्टीको भ्रातृसंस्थाजस्तो भएकोले नेपालको भूमिमाथिको अतिक्रमण बेवास्ता गरेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस आक्रामक भएको हो ।

कांग्रेसले बुधबार संसदमा चीनले अतिक्रमण गरेको नेपाली भू-भाग फिर्ता ल्याउन माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता गरेको छ ।

कांग्रेस सांसदहरुले बुधबार चीनले अतिक्रमण गरेको भूमि कूटनीतिक माध्यमबाट फिर्ता ल्याउन माग गर्दै संकल्प प्रस्ताव दर्ता गरेका हुन् ।

चीनले नेपालको भू-भाग अतिक्रमण गरेका समाचारहरु सार्वजनिक भएपछि कांग्रेसका नेता देवेन्द्रराज कँडेल, सत्यराम शर्मा खनाल र संजयकुमार गौतमले संसदमा संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।

नेपाल र चीनको सीमा छु्ट्याउँदा नेपालसँग भएको प्रमाणलाई नै बेवास्ता गरेर गोर्खाको उत्तरी भागमा सीमा गाडिएको तथ्य सार्वजनिक भएसँगै उत्तरतिरको विवाद सतहमा आएको छ । ५९ वर्षअघि नेपाल र चीनको १४१४ दशमलव ८८ किलोमिटर सीमा सीमांकन हुँदा नेपालका उर्वर र चरनका जमिन चीनतर्फ परे भने चीनका काम नलाग्ने भिरपखेरा नेपालतर्फ ।

ताप्लेजुङदेखि दार्चुलासम्म १५ जिल्लाका सीमांकनका क्रममा नेपालको प्रमाण हुँदाहुँदै पनि गोर्खा, दोलखा र संखुवासभाका गाउँ चीनतर्फ पारिएकोमा अझै त्यसबारे विवाद छ ।

सीमांकनका वेला सीमावर्ती जिउ खोलाको बीचमा सीमाखम्बा गाड्न खोजिएको थियो । तर, के–कति कारणले रुई गाउँलाई चीनतर्फ पारियो भन्नेमा स्थानीयले अहिलेसम्म पनि बुझ्न नसकेको सीमावर्ती साम्दो गाउँका होटेल व्यवसायी निमा दोर्जे शेर्पाले बताए ।

गोर्खा जिल्लामा मात्रै नेपाल–चीन सीमामा ६ वटा सीमास्तम्भ (पिलर नम्बर ३४ देखि ३९ सम्म) गाडिएको छ । साम्दोमा मात्रै तीनवटा छ । साम्दोको गेलापासमा ३४, लाछेमा ३५ र लचुङ पासमा ३६ नम्बर सीमास्तम्भ गाडिएको छ ।

‘त्यस उत्तरका रुई गाउँका बासिन्दाले नेपाललाई तिरेको तिरोको प्रमाण हुँदाहुँदै पनि कसरी चीनतर्फ पारियो भन्ने अझै स्पष्ट हुन सकेको छैन । रुईकै बासिन्दाले पनि यो कुरा बुझ्न सकेका छैनन्,’ लामाले भने । लामाका अनुसार नेपालीहरू रहेको रुई गाउँ तिब्बतको कोङबाङमा पर्छ ।

साम्दोबाट करिब पाँच घन्टाको पैदल दूरीमा रुई गाउँ छ । गोर्खा सदरमुकामबाट साम्दो गाउँ करिब ५२ कोस उत्तर पर्छ ।

Facebook Comments