चीनमा प्रतिबन्ध लगाउनुपर्ने भन्दै विवादित बनेको ‘कुकुरको मासु उत्सव’ सुरु

बेइजिङ । नोभेल कोरोना भाइरसको संक्रमण बढेपछि कुकुरलगायतका जनावरको मासुमा प्रतिबन्ध लगाउनुपर्ने भन्दै चर्को विरोधहरु भएका थिए । चीन सरकारले पनि जंगली र घरपालुवा जनवारको मासु प्रतिबन्ध लगाउने अभियानका बाबजुद चीनको गवाङ्सी जुआङस्थित युलिन सहरमा कुकुरको मासु उत्सव सुरु भएको छ ।

१० दिनसम्म चल्ने यो उत्सवमा हजारौं मानिसहरु सहभागी हुने न्युयोर्क पोस्टले जनाएको छ । तर, अभियानकर्ताहरुले भने विगतका भन्दा यस वर्ष कम सहभागी हुने र सम्भवत: यो वर्ष अन्तिम उत्सव हुने बताएका छन् ।

“मलाई आशा छ किन जनावरका लागि मात्र नभएर मानिसको स्वास्थ्य र सुरक्षाका दृष्टिकोणले पनि यस्ता पर्वहरु अब हुनेछैनन् र युलिन परिवर्तन हुनेछ,” चीनी नीति विज्ञसमेत रहेका जनावर अधिकारकर्मी पिटर लिले भने ।

उनले यस्ता पर्वहरु आयोजना गर्दा र मानिसहरु भिडभाड गरेर जम्मा हुँदा जनस्वास्थ्यमा खतरा उत्पन्‍न हुने र कोरोना भाइरसको संक्रमण थप बढ्ने बताएका छन् ।

नोभेल कोरोना भाइरस चमेरोबाट आएर मानवमा सरेको भनिएकोमा चीनले आफ्नो र जनवारबीचको सम्बन्धलाई फेरि पुनर्मूल्यांकन गर्न आवश्यक रहेको बताइएको छ ।

चीन सरकारले वन्यजन्तुको व्यापार र घरपालुवाको सुरक्षात्मक उपायसम्बन्धी नयाँ नियम ल्याउने तयारी भइरहेको बताइएको छ । गत फेब्रुअरीमा चीन सरकारले वन्यजन्तुको व्यापारमा रोक लगाएको थियो ।

गत अप्रिलमा सेन्जेनमा कुकुरको मासुसमेत बिक्री गर्न प्रतिबन्द लगाउने पहिलो सहर बनेको थियो । कृषि मन्त्रालयलेसमेत कुकुरलाई घरमा पाल्‍न सकिने भए पनि मासुजन्य पशुको रुपमा राख्‍न नहुने बताएका थिए ।

Facebook Comments