प्रशिक्षकले व्यक्तिगत मोटरसाइकल धुन लगाउँदा प्रहरी जवानकाे काटियाे औँला

डोटी । सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा रहेका प्रशिक्षकले व्यक्तिगत मोटरसाइकल धुन लगाउँदा दाहिने हातको औँला काटिएका बैतडी घर भएका २२ वर्षीय तालिमे प्रहरी जीतेन्द्र चन्दलाई काठमाडौं सिफारिश गरिएको छ । 

आज बिहान प्रशिक्षकले मोटरसाइकल धुन लगाएका कारण उनको दाहिने हातको औँला छिनेपछि दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उक्त अस्पतालमा उनको काटिएको औँला जोड्न नसकिएपछि प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको आदेशमा उनलाई थप उपचारका लागि काठमाडौं लगिएको हो ।

चन्दको काटिएको औँला बरफमा राखेर २४ घण्टाभित्र सुविधासम्पन्न अस्पतालमा पुर्‍याउन सकिए जोडिन सक्ने चिकित्सकको सल्लाह बमोजिम उनलाई काठमाडौं लगिएको सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले जनाएको छ । 

चन्दलाई सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पताल दिपायलको एम्बुलेन्समा काठमाडौं लगिएको हो । चन्दलाई तालिम केन्द्रमा कार्यरत प्रशिक्षकले आफ्नो निजी मोटरसाइकल धुन लगाउँदा मोटरसाइकिलको जञ्जीरमा दाहिने हातको औँला परेपछि छिनेको थियो । 

दाहिने हातको औँला प्रहरीको सलामी दिने तथा फायरिङ गर्नेदेखि अन्य काममा बढी प्रयोग हुन्छ । उनलाई भविष्यमा बढुवादेखि अन्य तालिम, मिसनमा जानेलगायत कुरामा समस्या उत्पन्न हुने भएकाले औँला जोड्नका लागि काठमाडौं लगिएको प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले जनाएको छ । रासस

Facebook Comments