काठमाडौं । गृह मन्त्रायलको सर्ट म्यासेज सर्भिस (एसएमएस) सेवालाइ ह्याकरले ह्याक गरी आपत्तिजनक म्यासेज प्रवाह गरेका छन्। बुधबार दिउँसो २ बजे गृह मन्त्रालयको एसएमएस सेवाबाट आपत्तिजनक म्यासेज प्रवाह भएलगत्तै साेधीखाेजी भएपछि उक्त प्रणाली ह्याक भएकाे तथ्य बाहिर अाएकाे हाे।
‘मन्त्रालयले कर्मचारीहरूलाई मिटिङमा बोलाउन परे तथा केही सूचना दिन परेमा त्यहाँबाट एसएमएस आउने गर्थ्यो,’ मन्त्रालयका एक कर्मचारीले भने,’हिजो करिब दुई बजे एक आपत्तिजनक म्यासेज आयो।’ उक्त म्यासेजमा नेपालविरूद्ध आपत्तिजनक शब्दहरू प्रयोग गरिएको उनले बताए। ‘ह्याकरले नेपालविरूद्ध आपत्तिजनक शब्दको प्रयोग गरिएको देखिन्छ,’ उनले भने,’भन्न नमिल्ने र भड्काउने खालको म्यासेज हो। शब्द नेपालको बदनाम हुने खालको छ।’
मेसेज आएपछि गृहमन्त्रालयले बुधबार साँझ नै प्रेस विज्ञप्ति जारी गर्दै उक्त सूचना मन्त्रालयबाट सम्प्रेषण नभएको जानकारी दिएको छ। ‘मन्त्रालयको एसएमएस प्रणालीमा अनधिकृत रूपमा ह्याक गरी एसएमएसमार्फत गलत सूचना प्रसारित गरेको पाइएकोले मन्त्रालयको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ,’गतल र भ्रामक एसएमएस मन्त्रालयबाट सम्प्रेषण नगरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।’
मन्त्रालयले यस विषयमा अनुसन्धान थालिसकेको जानकारी दिएको छ। अहिले नेपाल टेलिकम र नेपाल प्रहरीको साइबर ब्युरोलगायतले अनुसन्धान गरिरहेको स्रोतले बताएको छ।
Facebook Comments