भक्तमान अपहरणका नाइकेको वानेश्वरमा बिशाल महल

काठमाडौं । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा.भक्तमान श्रेष्ठलाई अपहरण गर्ने मूख्य नाइके रोहित पालिवाल अग्रवाललाई कैलाली कारागारमा सारिएपछि कारागार मिनी क्यासिनोमा परिणत भएको छ ।

उनलाई विभागकै कारागार शाखाका अधिकृत सन्तोष लामिछानेले सेटिङ गरी धादिङबाट सरुवा गरेका थिए ।डडेल्धुरामा बसेर आइफोन सुबिधा, अलग्गै बेड र बाहिरको प्याकिङ खानाको व्यवस्था गरी बसेका रोहित पालिवालको दवाव र प्रभावमा कैलाली कारगारमा अहिले पनि उस्तै छ ।

कैलालीमा रहँदा मिनीक्यासिनो सञ्चालन गर्दै आएका रोहित पालिवाल अग्रवालले कैलालीका तत्कालीन जेलर महेन्द्रबहादुर खड्कालाई पुनः त्यहीँ सरुवा गराएका छन् ।

खड्का अहिले पनि कार्यालय समयमै अल्कोहल सेवन गरेर बस्ने गरेका छन् । तर, कारबाही गरिएको छैन । त्यसो त कैलालीका सीडीओ यज्ञराज बोहोराले तुरुन्तै छानविन समिति बनाएर बिभिन्न दवावका बावजुद उनलाई डोटीमा सरुवा नै गरिदिएका थिए । तत्कालीन जेलर खड्काको सरुवा कारबाही फिर्ता गराउन पनि उनै रोहितले कारागार व्यवस्था विभागका अधिकृत सन्तोष लामिछाने मार्फत् गृह मन्त्रालयमा साँठगाँठ मिलाएको स्रोतको दाबी छ ।

चर्चित अपहरणकाण्डका नाइके रोहित पालिवाल अग्रवालको वानेश्वरमा बिशाल महल रहेको बुझिन आएको छ । उनीसँग भारतीय र नेपाली दुबै नागरिकता भए पनि सुक्ष्म रुपले छानविन नभएको स्रोतको दाबी छ ।

त्यसो त गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले माओवादी पार्टीको नेतृत्व गर्दै अपहरित बीपी कोइराला क्यान्सर अस्पतालका प्रमुख डा. भक्तमान श्रेष्ठलाई छुटाउन झण्डै पाँच किलो सुन गोरखपुर लगेर बुझाएको चर्चा पनि थियो ।

पाँच किलो सुन फिरौतीबापत बुझेपछि अग्रवालको समूहले धादिङबाट १९ दिनपछि अपहरित डा. श्रेष्ठलाई छाडेको थियो । अहिले कैलाली कारागारभित्र भारतीय कैदीहरुको बोलवाल पनि पालिवालकै कारण चल्दै आएको छ र साथै पुनः लागूऔषधको कारोबार पनि बढ्न थालेको स्रोतको दाबी छ ।

अभिभावकहरु छोराछोरी सुध्रिने आशा गरेर कारागारमा बस्न र खानका लागि भन्दै रकम पठाउने गरे पनि उक्त रकमबाट लागूऔषध खरिद गरेर खान्छन् भन्ने कुराको हेक्काचाहिँ नपाउने गरेको एक कैदीले बताए ।

अहिले सुधारगृहका रुपमा चर्चा गरिने कारागार रोहितजस्ताको कमाउधन्दाका कारण बद्नाम बन्न पुगेको छ ।

(साँघु साप्ताहिक)बाट

Facebook Comments