देशैभरकै जनताकाे प्रश्न: सरकार १० अर्ब खै ?

काठमाडौं। कोरोना महामारी बिरुद्ध लड्न भनेर सरकारले १० अर्ब खर्च गरेको विवरण देशैभरकै जनता पत्याएनन। बरु आम नागरिकले आफ्नै आँखा अगाडी भ्रष्टाचार भएको देखे। अनियमितता र अव्यवस्था देखे।

काठमाडौंको वसन्तपुरमा गृहको सूचनाको अवज्ञा गर्दै प्रदर्शन भएको छ। बुटवलमा पनि युवाहरुले सरकार विरुद्ध प्रदर्शन गरे। मुख्यमन्त्री शंकर पोख्रेललको कार्यालय अगाडी धर्ना दिने र सरकार विरुद्ध नारवाजी गर्ने उद्देश्य रहेपनि विफल वनाउन बुटवल वजारमा वाक्लो सुरक्षाकर्मी परिचालन गरिएको हाम्राकुराका सहकर्मी नारायण वलीले जानकारी दिए।

प्रदर्शनकारीलाई मुख्यमन्त्री कार्यालयसम्म जान नदिन सुरक्षा अवस्था अत्यन्तै कडा वनाइएको थियो।रुपन्देही प्रहरी प्रमुख एसपी हेम कुमार थापाको र ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी सिंह राठौरको नेतृत्वमा खटिएको प्रहरी टोलीले जुलुसलाई पटक पटक वल प्रयोग गरेर रोक्ने प्रयास गरेका थिए।

धुलिखेलमा पनि व्यापक प्रदर्शन भएको छ। गोरखा र उदयपुरमा पनि प्रदर्शन भएको खबर छ। उदयपुरमा पत्रकार विश्व तामाङले मध्य दिनको गर्मीमा पनि सयौं यूवाहरुले पारदर्शिता र सुशासनको माग गर्दै सिर्जनात्मक विरोध प्रदर्शन गरेको बताए। कैलालीको धनगढीमा पनि यूवाहरुले प्लेकार्ड सहित प्रदर्शन गरेका छन्।

इनफ इज इनफ समुहका तर्फबाट शनिवार काठमाडौं माइतीघरमा वृहत प्रदर्शनको तयारी छ।

८२ दिन कट्दा समेत लकडाउनलाई समर्थन जनाएर घरमै बसेका नागरिकको धैर्यको वाँध फुटेपछि अहिले यूवाहरुको नेतृत्वमा देशैभर स्वतस्पूर्त सरकार बिरुद्ध प्रदर्शन शुरु भएको हाे। देशैभरको प्रदर्शनमा पारदर्शिता र सुशासनको माग गरिएको छ।

देशैभर आन्दोलन हुन थालेपछि अत्तालिएको सरकारले गृह मन्त्रालयबाट सूचना निकाली प्रदर्शन गर्नेलाई कार्वाहीको चेतावनी दिएपनि काठमाडौं लगायत देशैभर प्रदर्शन भएको छ।

Facebook Comments