मेलम्ची खानेपानी आयोजनाविरूद्द आन्दोलनको चेतावनी

काठमाडाैँ । मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने बाँकी रकम भुक्तानीको माग गर्दै स्थानीय सप्लायर्सले आयोजनाविरुद्ध पुनःआन्दोलनको तयारी गरेका छन् । आगामी असार १ गतेदेखि विभिन्न रणनीतिसहित आन्दोलनलाई अगाडि बढाउने आयोजना पीडित स्थानीय सप्लायर्स उत्तरकुमार श्रेष्ठले जानकारी दिए।

आयोजनाबाट पीडित मजदूर तथा सप्लायर्सको समस्या समाधानका लागि २०७६ असार २५ गते खानेपानीमन्त्री बीना मगरको अध्यक्षतामा सभामुख अग्निप्रसाद सापकोटा, पूर्वकानूनमन्त्री एवं सिन्धुपाल्चोकका सांसद शेरबहादुर तामाङ, मेलम्ची खानेपानी आयोजनाका उपकार्यकारी निर्देशक रामप्रसाद अर्याल, सचिव दीपेन्द्रनाथ शर्माको उपस्थितिमा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङको संयोजकत्वमा प्राविधिक कार्यदलसमेत गठन भएको थियो । गठित कार्यदलले समस्या समाधानका लागि ठोस काम गर्न नसकेको संयोजक तामाङले जानकारी दिए ।

आयोजनाविरुद्ध मजदूर तथा सप्लायर्सको गत भदौमा एक साता लामो आन्दोलनपछि भएको सहमतिमा पनि समस्या समाधानका लागि सम्बन्धित निकायले चासो नदेखाएपछि असन्तुष्ट स्थानीय भेन्डर तथा सप्लायर्सले पुनःआयोजनाविरुद्ध कडा आन्दोलनको तयारी गरेको स्थानीय सप्लायर्सले बताएका छन् ।

सत्र महिनाभन्दा बढी समय कुर्दा पनि आयोजनाले पीडितको समस्या समाधानका लागि बेवास्था गरेपछि स्थानीय भेन्डर तथा सप्लायर्सले २०७६ चैत १३ गतेदेखि नै आन्दोलन गर्ने कार्यक्रम तय गरेका थिए । तर देशमा जारी लकडाउनका कारण संयमित बनेको बताउने सप्लायर्सले लकडाउनको मौका पारी आयोजना सम्पन्न गर्ने र पीडितको मागलाई लत्याउँदै खानेपानी काठमाडौँ लैजाने नियत राखेपछि जुनसुकै अवस्थामा पनि असार १ गतेदेखि आन्दोलनमा उत्रिने स्थानीय सप्लायर्स श्रेष्ठको भनाइ छ । आयोजनाले स्थानीय सप्लायर्सहरुको साढे सत्र करोडभन्दा बढी रकम भुक्तानी दिन बाँकी रहेको पीडित सप्लायर्सले बताउँदै आएका छन् ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.