भारतीय सांस्कृतिक सम्बन्ध परिषदको ७५ औं वार्षिकोत्सवमा सांस्कृतिक उत्सव

काठमाडाैं । भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) को ७५औं वार्षिकोत्सवको अवसरमा काठमाडौंस्थित भारतीय दूतावासले एक भव्य सांस्कृतिक कार्यक्रम तथा आईसीसीआरका पूर्व विद्यार्थीहरुको भेला आयोजना गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपालको पूर्वराष्ट्रपति डा. रामवरण यादव रहेका थिए ।

उक्त कार्यक्रममा आईसीसीआरका पूर्वछात्र तथा छात्रहरूले संगीत र नृत्यमार्फत भारत–नेपाल मैत्री सम्बन्धको उत्सव मनाएका थिए ।

सांस्कृतिक प्रस्तुतिहरूमा भारतीय र नेपाली संस्कृतिको झल्को दिने विविध नृत्य र गायन प्रस्तुति समावेश गरिएको थियो । साथै, आईसीसीआरका पूर्व विद्यार्थीहरूले परिषद्को छात्रवृत्तिले आफ्नो जीवन र करिअरमा पारेको सकारात्मक प्रभावबारे आफ्ना अनुभवहरू बाँडे ।

कार्यक्रममा बोल्दै डा. यादवले आफू पनि आईसीसीआरका छात्र रहेको उल्लेख गर्दै भारतीय शैक्षिक र सांस्कृतिक अवसरहरूले आफूलाई व्यापक दृष्टिकोण प्रदान गरेको बताए । उनले नेपाल–भारतबीचको सदियौँ पुरानो ऐतिहासिक, सभ्यतागत र सांस्कृतिक सम्बन्धको चर्चा गर्दै जनस्तरको सम्बन्ध अझ सुदृढ गर्न यस्ता कार्यक्रमहरूको महत्त्वलाई जोड दिए।

यस अवसरमा डा. यादवले दूतावास परिसरमा ‘टाँकी’ प्रजातिको रुखको बिरुवा रोपेर हरियाली र दीर्घकालीन मित्रताको सन्देश पनि दिए ।भारतीय राजदूतावासले आईसीसीआरको योगदानको प्रशंसा गर्दै परिषद्ले दुई देशबीचको सांस्कृतिक सेतु निर्माणमा खेलेको भूमिकाको प्रशंसा गर्‍यो ।

Facebook Comments