चक्रपथ विस्तार गर्ने चिनियाँ टोली नै आएन

काठमाडौँ — चक्रपथ दोस्रो खण्ड विस्तारका लागि नेपाल र चीन सरकारका प्रतिनिधिबीच विस्तारमा सहयोग गर्ने पत्रमा हस्ताक्षर भएको चार महिना पुग्यो । यस अवधिमा न चिनियाँ टोली आयो, न काम नै अघि बढ्यो । कहिले काम सुरु हुन्छ भन्ने विषयमा अझै अलमल छ ।

गत भदौ ६ मा नेपाल र चीन सरकारका प्रतिनिधिबीच विस्तारमा सहयोग गर्नेसम्बन्धी पत्रमा हस्ताक्षर भएको थियो । सडक बन्ने आसमा बसेका स्थानीय अहिले निराश छन् । जनप्रतिनिधिले सडक विभागदेखि सदनसम्म पटक–पटक कुरा उठाइरहेका छन् । सम्बन्धित निकायको ध्यानाकर्षण गराइरहेका पनि छन् । तर कुनै सुनुवाइ भएको छैन ।

चक्रपथ विस्तारमा ढिलाइ भएपछि सरकारलाई दबाब दिन स्वास्थ्यमन्त्री एवं काठमाडौं–५ का सांसद प्रदीप पौडेल नेतृत्वको टोलीले उक्त खण्डमा सामूहिक पैदल यात्रासमेत गरेको थियो । गत असारमा पौडेल नेतृत्वको टोलीले कलंकीदेखि चाबहिलसम्म करिब १२ किमि पैदल यात्रा गरेको थियो । उनलाई काठमाडौंका सांसद राजन केसी, प्रतिमा गौतम, सन्तोष चालिसे र शिशिर खनालले साथ दिएका थिए ।

सडक विस्तारको काम छिटो अघि बढाउन पटक–पटक खबरदारी गर्दा पनि सम्बन्धित निकायले वेवास्ता गरिरहेको काठमाडौं–७ का सांसद गणेश पराजुलीले बताए । ‘सडक विभागमा पुगेर निरन्तर खबरदारी गरीरहेका छौं,’ उनले भने, ‘सडकका कारण आइपरेका समस्याबारे भनिसाध्य छैन । मुख्य सडकसँग जोडिएका शाखा सडक बिगारिएको छ ।’ स्थानीयले ६ वर्षदेखि बर्खामा हिलो र हिउँदमा धुलोको समस्या खेप्दै आएका छन् । सरकारी निकायबाट समस्या समाधानमा बेवास्ता हुँदा स्थानीयले सास्ती बेहोर्नुपरेको पराजुलीको भनाइ छ ।

‘दबाब दिइरहेका छौं, सदन र मन्त्रालयमा कैंयौं पटक यस विषयलाई उठाइसकेका छौं, परियोजना प्रमुख सबैलाई भनिसक्यौं, यति भन्दा पनि हुँदैन भने कसलाई भन्ने ? कसलाई गएर समस्या सुनाउने ?’ सर्भिस लेन बनाउने नाममा मुख्य सडकसँग जोडिएका भित्री सडकसमेत भत्काइँदा सवारी सञ्चालनमा सास्ती भइरहेको उनले जनाए ।

लामो समयदेखि सडक भत्काएर अलपत्र पारिँदा स्थानीयमा सडक बन्ने आशा न्यून बन्दै गएको पराजुलीले बताए । अहिले सर्भिस लेन बनाउने भन्दै सडक भत्काएर अलपत्र पारिएको छ । ठाउँ–ठाउँमा माटो थुपारिएकाले सवारी साधन सञ्चालन पनि कष्टपूर्ण छ । सडकको दुरवस्थाले गर्दा कलंकीदेखि बसुन्धरासम्मको खण्डमा व्यापार व्यवसाय गर्नेहरू पलायन हुने अवस्था सिर्जना भएको छ ।

कोटेश्वर–कलंकी पहिलो खण्डको काम २०६९ मा सुरु भई २०७५ सालमा सकिएको थियो । सुरुको अवस्थामा दोस्रो खण्ड विस्तारमा नेपाल सरकारले पूर्वतयारीको काम नगर्दा र पछि चीन सरकारका कारण थप काम अघि बढ्न सकेको थिएन । अहिले कुनै समस्या नरहेको सडक विभागका महानिर्देशक रामहरि पोखरेलको भनाइ छ ।

‘चीनबाट प्राविधिक टोली कहिले आउने र कसरी काम गर्ने भनेर अहिलेसम्म केही जानकारी आएको छैन,’ महानिर्देशक पोखरेलले भने, ‘प्राविधिक टोली आएपछि विभागसँग समन्वय गरेर नै काम सुरु हुन्छ ।’ सडक निर्माणमा ढिलाइ भएकोबारे सांसद, जनप्रतिनिधि र स्थानीयबाट समेत गुनासो आइरहेको छ । नेपाल सरकारबाट गर्ने काममध्ये अहिले कलंकीबाट वसुन्धरा कल्भर्टसम्म सर्भिस लेन निर्माणको काम भइरहेको उनले जनाए ।

चीन सरकारको अनुदानमा दोस्रो खण्ड कलंकीदेखि बसुन्धरा कल्भर्टसम्म ८.२ किलोमिटर सडक विस्तार गर्न लागिएको हो । चीनसँग सन् २०१८ मा यो सडक खण्ड विस्तारका लागि जीटूजी सम्झौता भएको थियो ।

तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, नेपालका लागि चिनियाँ राजदूत छन सोङलगायतको संयुक्त टोलीले २०७९ फागुन ११ मा सडक विस्तार गर्ने खण्डको स्थलगत निरीक्षणपछि डिजाइनको काम अघि बढाइएको सुनाएका थिए । तर त्यसपछि डिजाइनबारे न चीन बोल्यो, न नेपाल सरकारले डिजाइन पूरा भएको जानकारी गरायो । त्यसताका यो सडकले धेरै चर्चा पाए पनि काममा भने गति लिन सकेको थिएन ।

गत भदौमा सम्झौतापत्रमा हस्ताक्षर भइसकेकाले काम हुन्छ भन्ने आस गर्ने आधार रहेको पूर्वसचिव अर्जुनजंग थापाले बताए । ‘आयोजना कार्यान्वयनमा लैजाने गरी दुई देशका अधिकारीबीच सम्झौता भइसकेको छ,’ उनले भने, ‘सन् २०१८ पछि दोस्रो खण्ड निर्माण गर्ने भनेर समझदारीपत्रमा हस्ताक्षर (एमओयू) भएको थियो, बल्ल ६ वर्षपछि आयोजना कार्यान्वयनमा जाने भनेर सम्झौता भएको छ ।’ अर्काको आस गरेर बस्दा निर्माणमा जान ढिलाइ भएको उनको भनाइ छ ।

‘यति बेलासम्म निर्माणमा गइसक्नुपर्ने हो, आफ्नै स्रोत प्रयोग गरेर भए पनि निर्माणको काम सक्नुपर्ने हो,’ उनले भने, ‘स्रोत जति सबै नेताका खल्तीका आयोजनामा लगाइएकाले दातृ निकायसँग कचौरा थापेरर बस्दाको नतिजा यो हो ।’ विस्तारको काम चीन सरकारबाटै हुने भएकाले उतै बोलपत्र आह्वान गरेर परामर्शदाता र निर्माण व्यवसायी छनोटको काम अघि बढाइएको हुन सक्ने उनले सुनाए ।

चीनको प्राविधिक टोली आएर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाइसकेपछि कहाँ–कहाँ के बनाउनु छ र लागत कति लाग्छ, सबै थाहा हुने अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता महेश भट्टराईले जनाए । ‘चिनियाँ प्राविधिक टोली आएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई चिठी लेखेर सहजीकरण गर्न भन्छौं, अहिलेसम्म टोली आइसकेको छैन,’ उनले भने, ‘तर कहिले आउने भन्नेबारे निश्चित भइसकेको छैन ।’

डिजाइनका लागि चीन सरकारले उतै बोलपत्र आह्वान गरेको जानकारी पाएको र कहिले फिल्डमा आएर काम गर्ने भन्ने सम्बन्धमा निश्चित भइनसकेको भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए । ‘निर्माणमा जाने गरीका प्रक्रिया अघि बढ्दै छन्,’ उनले भने, ‘अब धेरै ढिला नहोला ।’

कलंकीदेखि सीतापाइलासम्म चार लेन र सीतापाइलादेखि चक्रपथ खण्डमा दुई लेन सडक छ । अब विस्तार गर्दा सर्भिस लेनसहित आठ लेन बन्नेछ । यसअघि कोटेश्वरदेखि कलंकीसम्म १०.३९ किमि सडक बनाउन चीनलाई ६ वर्ष लागेको थियो । चीनको ५ अर्ब अनुदानमा उक्त सडक ८ लेनमा विस्तार गरिएको थियो ।

Facebook Comments