चीनले किन धमाधम दिँदैछ फ्री भिसा?

काठमाडौँ । चीनले विगत एक वर्षमा ३८ देशका नागरिकलाई फ्री भिसा (बिना भिसा) प्रवेश गर्न अनुमति दिएको छ। कोभिड-१९अघि यस्तो सुविधा तीन देशलाई मात्र उपलब्ध थियो। चीनले यो सुविधा धेरै देशलाई किन दिइरहेको छ त?

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन जियानले छिट्टै अन्य ९ देशका नागरिकलाई बिना भिसा चीन प्रवेशका लागि अनुमति दिइने बताएका छन्। यसै महिनाको अन्त्य अर्थात् ३० नोभेम्बरबाट बुल्गेरिया, रोमानिया, माल्टा, क्रोएसिया, मोन्टेनेग्रो, नर्थ म्यासेडोनिया, एस्टोनिया, लाट्भिया र जापानका नागरिक भिसा बिना नै चीन पुग्न सक्नेछन्।

प्रवक्ता लिनको यस्तो जानकारीसँगै एक वर्षमा बिना भिसा चीन प्रवेशको सुविधा पाउने मुलुकको संख्या ३८ पुगेको छ। कोभिड महामारीअघि यस्तो सुविधा तीन देशहरूलाई मात्र उपलब्ध थियो। त्यो सुविधा पनि कोरोना भाइरस फैलिन थालेपछि बन्द गरिएको थियो।

यति मात्रै होइन, चीनले बिना भिसा बस्न पाउने समय सीमा पनि बढाएको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिनले समाचार एजेन्सी एपीसँग भनेका छन्, ‘चीनमा भिसा बिना बस्न पाउने अधिकतम समय सीमा ३० दिन पुर्‍याइएको छ।’ यसअघि यस्तो सुविधा १५ दिनका लागि थियो। यो कदमलाई पर्यटनबाट हुने आम्दानी बढाउने र अर्थतन्त्र सुधार गर्ने प्रयासका रूपमा हेरिएको छ। चिनियाँ अधिकारीहरूका अनुसार व्यापारिक सम्बन्ध विस्तारका लागि यात्रा सहज बनाउनु पनि यसको उद्देश्य हो।

आपसी सम्पर्क बढाउँदा चीनको छवि उज्यालो हुने विश्वास अधिकारीहरूको छ। पछिल्ला दिनमा चीन विशेष गरी जनस्तरमा अन्य देशका नागरिकसँग मेलमिलाप बढाएर आपसी सम्बन्ध सुधार्न र आफ्नो देशको छवि उज्यालो बनाउन प्रयासरत छ। यस क्रममा व्यापारीहरू मात्रै होइन, विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता, पत्रकार र अन्य पेसागत व्यक्तिहरूबीच आपसी सम्पर्कलाई प्रोत्साहन गर्ने नीति चीनले लिएको छ।

कोभिड-१९ महामारीका बेला लागू गरिएको यात्रा प्रतिबन्ध चीनले अन्य धेरै देशको तुलनामा ढिलो गरी हटाएको थियो। चीनले क्रमशः कोभिडभन्दा अघि नै सुविधा पाएका देशहरूलाई पुन: यस्तो सुविधा दिन थालेको थियो। बिना भिसा यात्राका लागि जुलाई २०२३ मा ब्रुनाई र सिंगापुरलाई पुनः यस्तो सुविधा प्रदान गरिएको थियो। त्यसपछि डिसेम्बर २०२३ देखि जर्मनी, फ्रान्स, इटाली, नेदरल्यान्ड्स, स्पेन र मलेसियाका नागरिकलाई फ्री भिसामा चीन प्रवेश अनुमति दिइएको हो।

चीनको परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर विभागलाई उधृत गर्दै यस वर्ष जुलाईदेखि सेप्टेम्बरसम्म चीन भ्रमण गर्ने ८२ लाख विदेशी पर्यटकमध्ये ४९ लाखले भिसा बिना प्रवेश गरेको त्यहाँको सरकारी समाचार एजेन्सी सिन्हवाले उल्लेख गरेको छ।

चीनले सिंगापुर, थाइल्यान्ड र कजाकस्तानजस्ता ६ देशसँग आपसी भिसा फ्री सम्झौतामा हस्ताक्षर गरेको चिनियाँ परराष्ट्र मन्त्रालयका अधिकारी तोङ स्युएजुनलाई उधृत गर्दै सरकारी समाचार संस्था ग्लोबल टाइम्सले उल्लेख गरेको छ। तोङले चिनियाँ र विदेशी व्यापारीका लागि यात्रा सहज बनाउन थप पहल गरिने बताए। यसैगरी चीनले २९ देशका लागि एकतर्फी भिसाफ्री नीति लागू गरेको छ, जसमा फ्रान्स र जर्मनी पनि समावेश छन्।

चीनको वाणिज्य मन्त्रालयले बिहीबार विदेशी व्यापारलाई समर्थन गर्नका लागि विभिन्न नीति सार्वजनिक गरेको छ। जसमा थप देशहरूसँग भिसा फ्री सम्झौता गर्नु, चीनको एकतर्फी भिसाफ्री नीतिमा समावेश हुने देशहरूको दायरा क्रमिक रूपमा विस्तार गर्नु, ट्रान्जिट भिसाफ्री नीतिको दायरा बढाउनु, भिसामा बसाइ अवधि विस्तार गर्नु लगायत छन्।

आर्थिक विकास र व्यापार प्रोत्साहन, वैश्विक प्रतिस्पर्धा, पर्यटन क्षेत्रको विकास, व्यापार र कूटनीतिक सम्बन्ध सुधार र आन्तरिक अर्थव्यवस्थालाई सबल बनाउन चीनले यस्तो नीति अवलम्बन गरेको बताइएको छ। –एपीको सहयोगमा

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.