ट्र्याक्टरले च्याप्दा मृत्यु

दमाैली । तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा बुधबार राति ट्र्याक्टरले च्याप्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २२ वर्षीय पञ्चराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बालुवा, ढुङ्गा लोड गर्ने क्रममा अनटेष्ट ट्र्याक्टर पल्टिँदा ट्र्याक्टरले च्याप्दा सोही ट्र्याक्टरमा काम गर्ने गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

यसैगरी बुधबार राति नै पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनीमा बा१९च ४८०४ नंको स्कोरपियोको ठक्करबाट आठ वर्षीय बालक घाइते भएका छन् । घाइते हुनेमा आठ वर्षीय रोशन सुनार रहेका छन् । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ढिस्कोले पुरिएर घाइते

तनहुँको भीमाद नगरपालिका–५ स्थित झकासघाटमा ढिस्कोले पुरिएर बुधबार एक जना घाइते भएका छन् । घाइते हुनेमा भीमाद नगरपालिका–८ बस्ने २८ वर्षीय दीपक विक रहेको इलाका प्रहरी कार्यालय भीमादले जनाएको छ ।

सेती नदी किनारमा रहेको झकासघाटमामा बालुवा उत्खनन गर्ने क्रममा ढिस्कोले पुरिएका विकलाई इलाका प्रहरी कार्यालय भीमादका प्रहरी नायब निरीक्षक भेषराज रेग्मीको नेतृत्वमा गएको प्रहरीको टोलीले उद्धार गरेको छ । करिब चार घण्टा लगाएर उद्धार गरिएका विकलाई उपचारका लागि पोखरा पठाइएको रेग्मीले जानकारी दिए । रासस

Facebook Comments