चीनमा एक दशकयताकै शक्तिशाली समुद्री आँधी

एजेन्सी । चीनको हाइनान प्रान्तमा एउटा शक्तिशाली समुद्री आँधीका कारण कम्तीमा दुईजनाको मृत्यु भएको छ भने ९० जना भन्दा धेरै घाइते भएका छन्।

‘यागी’ नामक उक्त ‘सुपर टाइफून्’ले सडकहरू जलमग्न बनाएको थियो भने विद्युत् आपूर्तिमा अवरोध निम्त्याएको थियो। आँधीको वेग प्रतिघण्टा २३० किलोमिटरभन्दा माथि रहेकाले कैयौँ रुखहरू पनि ढलेका थिए।

यस दक्षिण चीनमा एक दशकयताकै सर्वाधिक शक्तिशाली समुद्री आँधी हो।

हाल उक्त आँधी उत्तरी भियतनामतर्फ अघि बढेको छ। ‘यागी’ले उत्तरी फिलिपिन्समा यसै साता ठूलो क्षति पुर्‍याएको थियो र त्यसयता उसले आफ्नो शक्तिलाई दुई गुणाले बढाएको छ।

समुद्री आँधीले कहाँ कहाँ प्रभाव पार्‍यो?
चीनको दक्षिणमा पर्ने एउटा लोकप्रिय पर्यटकीय टापुमा उक्त भीषण आँधी र वर्षाले सबैभन्दा धेरै असर गरेको छ।

हाइनान टापुको उत्तर पूर्वमा अवस्थित वेनचङ सहरलाई यागीले २२३ किलोमिटर प्रतिघण्टा हावाको वेगले शुक्रवार स्थानीय समय अनुसार ४ बजे प्रहार गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

सन् २०१४ को रमासुन समुद्री आँधीले ४६ जनाको ज्यान लिएको थियो। त्यसयता हाइनानलाई प्रभावित तुल्याएको सर्वाधिक शक्तिशाली समुद्री आँधी यागी हो।

चीनको मौसम विभागले शरद् ऋतुमा तटसम्म आइपुगेको सबैभन्दा शक्तिशाली समुद्री आँधी यागी भएको उल्लेख गरेको छ।

उक्त आँधी आउनु पूर्व नै उक्त टापुका करिब ४ लाख मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको जनाएका छन्।

रेल, डुङ्गा र हवाइ उडानहरू रद्द गरिए भने विद्यालयहरू बन्द गरिएका थिए।

उत्तरी फिलिपिन्समा क्षति पुर्‍याउँदै अघि बढेको उक्त आँधीले हाइनान र सर्वाधिक जनसङ्ख्या रहेको चीनको गुआनडुङ प्रान्तमा ठूलो क्षति पुर्‍याउनसक्ने मौसमविद्हरूले चेतावनी दिएका थिए।

बिहीवार जारी गरिएको सूचनामा इन्डो प्यासिफिक ट्रोपिकल साइक्लोन वार्निङ सेन्टरले यागी एउटा ‘ज्यादै खतरनाक र शक्तिशाली’ समुद्री आँधी रहेको भन्दै त्यसले जमिनमा प्रवेश गर्दा ‘उत्पात निम्त्याउन सक्ने’ चेतावनी दिएको थियो।

सुपर टाइफुनसँग ‘क्याटगरी पाँच हरिकेन’ बराबरको सामर्थ्य हुन्छ।

उक्त समुद्री आँधी जमिनमा प्रवेश गरेसँगै हाइनानमा व्यापक रूपमा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो।

स्थानीय सञ्चारमाध्यमहरूले करिब ८ लाख ३० हजार मानिसहरू प्रभावित भएको जनाएका थिए। त्यहाँ झन्डै ७ हजार जनाको आपत्कालीन टोली परिचालन गरिएको थियो।

उक्त टोलीका अनुसार २ लाख ६० हजार घरमा शुक्रवार साँझबाट बत्ती आएको छ।

‘भीषण र शक्तिशाली आँधीको चेतावनी दिएका’ अधिकारीहरूको आदेशपछि सबै पर्यटकीय केन्द्रहरू बुधवारबाटै बन्द गरिएका थिए।

समुद्री किनारा, विलासी होटल र ड्यूटी फ्री पसलहरूका कारण चर्चित हाइनानलाई कतिपयले ‘चीनको हवाइ’ का रूपमा पनि उल्लेख गर्नेगर्छन्।

हङकङलाई मकाउ र जुहाईसँग जोड्ने गुआनडुङ प्रान्तमा रहेको संसारकै सबैभन्दा लामो समुद्री पुललाई पनि बन्द गरिएको थियो।

गुआनडुङमा शुक्रवार दोस्रो पटक उक्त आँधीबेहरीको असर देखिँदा आँधीको वेग २०० किलोमिटर प्रतिघण्टा भन्दा धेरै रहेको थियो।

उक्त क्षेत्रमा बिहीवारबाट भीषण वर्षा र आँधी आइरहेका छन्। चीनको मौसम हेर्ने निकायले ५०० मिलिमिटरसम्म वर्षा हुने अपेक्षा गरेको छ।

प्रभाव कहिलेसम्म रहला?
हाइनानका लागि समुद्री आँधी कुनै नयाँ समस्या होइन।

तर सन् १९४९ यताका १०६ वटा समुद्री आँधीमध्ये जम्मा ९ वटालाई मात्रै ‘सुपर टाइफून’ क्याटगरीमा राखिएको रोएटर्स समाचार संस्थाले जनाएको छ।

चिनियाँ अधिकारीहरूले आफ्नो दक्षिणी तटमा असर पुर्‍याउने यागी यो दशकै सर्वाधिक शक्तिशाली समुद्री आँधी हुने विश्वास गरिरहेका छन्।

उक्त समुद्री आँधीकै कारण हङ्कङस्थित स्टक एक्सचेन्जको कारोबार स्थगित गरिएको थियो भने विद्यालयहरू बन्द गरिएका थिए।

उक्त सहरमा चरम मौसमका कारण पाँच जना घाइते भएपनि सिमितमात्रै क्षति भएका विवरण आएका छन्।

शनिवार उत्तरी भियतनाम पुग्ने भनिएको यागी त्यसबेलासम्म कमजोर हुने आकलन गरिएको छ।

स्थानीय अधिकारीलाई उद्धृत गर्दै एएफपी समाचार संस्थाले जनाए अनुसार सो क्षेत्रका दशौँ हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको थियो।

उक्त आँधीको व्यवस्थापनका लागि भियतनामको सेनाले करिब ४ लाख ६० हजार सैनिक परिचालन गरेको स्थानीय सञ्चारमाध्यमले लेखेका छन्।

देशको उत्तरमा रहेका चारवटा विमानस्थल बन्द गरिएको भियतनामको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।

यसै हप्ताको सुरुमा यागीले निम्त्याएको बाढी र पहिलोले उत्तरी फिलिपिन्समा कम्तीमा १३ जनाको ज्यान लिएको थियो। हजारौँ मानिसहरूलाई अधिकारीहरूले सुरक्षित ठाउँमा उद्धार गरेका थिए।

वैज्ञानिकहरूले आँधी र समुद्री आँधीहरू शक्तिशालीको सङ्ख्या र शक्ति बढ्नुमा जलवायु परिवर्तन जिम्मेवार रहेको बताउने गरेका छन्।

समुद्रको पानी तातो हुँदा आँधीले थप शक्ति पाउने र त्यसले उसको गतिलाई वृद्धि गर्ने बताइन्छ।

वायुमण्डल तातो हुँदा त्यसले वर्षालाई अझ तीव्र बनाउन सक्ने बताइन्छ।

एक हप्ताअघि जापानमा सानसान नामक समुद्री आँधीले ६ जनाको ज्यान लिएको थियो भने सयौँ घाइते भएका थिए। साभार बीबीसी

Facebook Comments