विद्युत र टेलिकम महसुल छुट कार्यान्वयन गर्न सांसदहरूकाे माग

काठमाडाैं । राष्ट्रियसभाको आजको बैठकमा सांसदले सरकारले लकडाउनकाे अवधिमा विद्युत् महसुलमा छुट दिने निर्णय गरेको भए पनि कार्यान्वयनमा नआएको भन्दै गुनासो गरेका छन ।

शून्य समयमा नेपाली कांग्रेसकी तारादेवी भट्टले गत चैत र वैशाखको कूल १५० युनिटसम्म २५ प्रतिशत छुट दिने निर्णय कार्यान्वयन नभएकामा आपत्ति जनाइन । “आफैँले गरेको निर्णय कार्यान्वयन नहुने यो सरकारको कस्तो निर्णय हो”, उनले भनिन । यस्तै नेपाल टेलिकमले ग्राहकलाई विभिन्न सेवामा छुट दिने भनेर गरिएको निर्णयसमेत कार्यान्वयन नभएकामा उनले रोष प्रकट गरिन ।

यस्तै कांग्रेसकै अनिता देवकोटाले यही जेठ १० गते रुकुम –पश्चिम)को चौरजहारी, सोतीमा भएको घटना सेलाउन नपाउँदै सप्तरीमा एक महिलालाई बोक्सीको आरोपमा अमानवीय व्यवहार गरिएको जनाउँदै दोषीमाथि कडा सजायको माग गरिन ।

नेकपाकी उदया शर्मा पौडलले कोभिड–१९ कारण धेरैको रोजीरोटी गुमेकाले ठाउँठाउँमा आत्महत्याका घटना बढेको तथा कतिपय निकाय एवं संस्थाले कर्मचारी निकाला गरेकाले बन्दाबन्दी खुकुलो बनाई जनजीवन सहज बनाउनेतर्फ सरकारको ध्यानाकर्षण गराए।

सोही दलकी कोमल वलीले त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकको करार सम्झौता कार्यान्वयन नभएको भनी चिन्ता व्यक्त गरे ।

Facebook Comments