चीनले प्रवेश अनुमति नपाउँदा ताक्लाकोट हिँडेका व्यापारी अलपत्र

बझाङ । जयपृथ्वी नगरपालिका–१ कैलाशका चन्दबहादुर सिंह, भक्त सिंह, हिक्मत सिंह, उमेश सिंह र महेन्द्र सिंह १६ दिनदेखि नेपाल र चीनको सीमानजिक पर्ने तिब्बती भूभाग ठाडोढुंगामा बसिरहेका छन् । साउन ५ मा उनीहरू मानसरोवरको जल ल्याउन घरबाट हिँडेका हुन् ।

कोरोनाका कारण चीनले नाका बन्द गरेपछि पाँच वर्षदेखि रोकिएको मष्टा देवताको कुलपूजाका लागि मानसरोवरको जल ल्याउन उनीहरू तिब्बत गएका थिए । घरबाट पैदल हिँडेको पाँचौं दिन उनीहरूलाई तिब्बतको कठान नजिकै तिज्म भन्ने ठाउँमा रहेको चिनियाँ सुरक्षाकर्मीको पोस्टबाट फिर्ता पठाइएको थियो । ‘अहिले प्रवेश अनुमति छैन । खुलेपछि आउनू भनेर चिनियाँ आर्मीले फिर्ता पठायो,’ टोलीमा रहेका चन्दबहादुर सिंहले भने, ‘त्यसपछि एक दिन हिँडेर यहाँ ठाडोढुंगामा आएर बसेका छौं ।’ आफूहरूले बोकेर लगेको सामल सकिएको रनयाँ आउनेहरूले ल्याएको सामल किनेर खाइरहेको उनले जनाए ।

ताक्लाकोटमा निगालोका डोको, भकारी, मान्द्रालगायत सामान बिक्री गर्न हिँडेका साइपाल गाउँपालिकाका गोरख लामा, खिमलाल लामालगायतको सात जनाको टोलीलाई पनि तिज्ममा रहेका चिनियाँ सुरक्षाकर्मीले फर्काइदिएको छ । उनीहरू त्यहाँबाट दुई दिन हिँडेर हुम्लाको हिल्सा नाकातर्फ लागेका छन् । ‘बोकेको सामल खाएर कहिले खुल्छ भनेर कुर्नुभन्दा हिल्साबाट छिर्न पाइन्छ कि भनेर त्यता हिँडेका छौं,’ हुम्लाको टौवेनबाट गोरखले टेलिफोनमा भने, ‘अरु थुपै मान्छे नाका खुलेपछि जाउँला भनेर ठाउँठाउँमा पाल हालेर बसेका छन् ।’

चीनको पुराङ काउन्टीअन्तर्गत पर्ने बैंस, ठाडोढुंगा र नेपालतर्फको साइपाल, चौरापानी, कालंगालगायत ठाउँमा एक सयभन्दा बढी मानिस बसिरहेको गोरखले जनाए । ‘थुप्रै मान्छे बाटोमा अलपत्र परेका छन् । सामल सकिएर समस्यामा परेकाहरू कतिपय उता नगएरै फिर्ता पनि हुन थालेका छन्,’ सीमावर्ती साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले भने, ‘उत्तिकै संख्यामा मानिसहरू चीनतर्फ गइरहेका पनि छन् । तर उता एक जनालाई पनि प्रवेश गर्न दिएको छैन ।’ चीन प्रवेश सहज बनाउन समन्वय गरिदिन आफूहरूले परराष्ट्र मन्त्रालयका अधिकारीहरूसँग निरन्तर सम्पर्क गरिरहे पनि सफल हुन नसकेको उनले बताए ।

जिल्ला प्रशासन कार्यालयबाट बझाङका १० महिलासहित १ सय ११ जनाले चीन प्रवेश अनुमतिपत्र लिएका छन् । उनीहरूमध्ये धेरैजसो तिब्बतमा रहेको मानसरोवर तालबाट जल ल्याउन जानेहरू र स्थानीय व्यापारी रहेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलको भनाइ छ । ‘अहिले ताक्लाकोट प्रवेश गर्न दिएको छैन । खुलेपछि जानुहोस् भनेर मैले सबैलाई जानकारी गराएको हो,’ कुइँकेलले भने, ‘हाम्रो देउताले दिएको साइतमा हिँड्नुपर्छ भनेर धेरैजसो गइसक्नुभएको छ । उता प्रवेश गर्न दिएको छैन ।’ साउन २४ मा मात्रै प्रवेश गर्न दिने भन्ने जानकारी आएको कुइँकेलले जनाए ।

उता तिब्बतको ताक्लाकोटमा रहेका बझाङका व्यापारी जगत तामाङले बझाङतर्फको नाकामा पर्ने लुक्पु खोलामा पुल र सडक कालोपत्र गर्ने काम भइरहेकाले उक्त काम सम्पन्न नहुन्जेल प्रवेश नदिने ताक्लाकोट प्रशासनले आफूलाई जानकारी दिएको बताए । प्रत्येक अंग्रेजी महिनाको ८, ९, १० र ११ तथा २०, २१, २२ र २३ तारिखमा मात्रै बझाङको नाकाबाट प्रवेश गर्न दिने जानकारी ताक्लाकोटमा रहेको वैदेशिक मामिला हेर्ने कार्यालय पब्लिक सेक्युरिटी ब्युरोले दिएको उनको भनाइ छ ।

‘निर्माणको काम नसकिन्जेल खुल्ने भनेको दिन पनि प्रवेश दिँदैनौँ भनेका छन् । काम कहिले सकिन्छ भन्न सकिन्न,’ तामाङले कान्तिपुरसँग भने, ‘निर्माण सम्पन्न भइसकेपछि तोकिएको दिनमा मात्रै ताक्लाकोटसम्म आउन दिन्छौँ । त्यही जानकारी गराइदिनू भनेका छन् ।’ बझाङबाट ताक्लाकोटसम्म मात्रै प्रवेश दिने तिब्बत प्रशासनको नीति भएकाले मानसरोवरको जल ल्याउन नआउनसमेत भनेको उनले बताए । केही दिनअघि हुम्लाका केही व्यक्तिले बझाङको बाटो भएर अवैध रूपमा जडीबुटी तिब्बत पुर्‍याएर फरार भएको र सोही कारण देखाउँदै बझाङको नाकाबाट मान्छे भित्र्याउन तिब्बत प्रशासन अनिच्छुक देखिएको तामाङले सुनाए । उक्त घटनापछि तिब्बती क्षेत्रमा चराउन लगिएका दुई हजारभन्दा बढी भेडा–च्यांग्रा पनि फर्कादिएको उनले जनाए । ‘अहिले पहिलाको जस्तो छैन । यहाँ धेरै कडा गरेको छ,’ उनले भने, ‘राम्रोसँग बुझेर मात्रै आउँदा ठीक हुन्छ । नत्र दुःख मात्रै पाइन्छ ।’

कोरोना संक्रमणको कारण देखाउँदै पाँच वर्षअघि नाका बन्द भएपछि बझाङको तिब्बतसँगको धार्मिक, व्यापारिक र सांस्कृतिक सम्बन्ध अवरुद्ध भएको छ । मानसरोवरको जल ल्याउन नपाउँदा बझाङका दुई सयभन्दा बढी मन्दिरको पूजाआजा रोकिएको छ । यस्तै हस्तकला र निगालोका सामान, टिमुर, उवा, जौ, गुराँस, मुसुरोको दाल, खुर्सानीलगायत गाउँमा उत्पादन भएको सामान लिएर तिब्बतमा बिक्री गर्ने र त्यहाँबाट फर्किदा ल्याएको सामान गाउँमा बिक्री गर्दै आएका थुप्रैको व्यापार पनि बन्द भएको छ । साइपाल, तलकोट, मष्टा, खप्तडछान्ना, छबिस, दुर्गाथली गाउँपालिका तथा बुंगल र जयपृथ्वी नगरपालिकाका भेडापालकको तिब्बती गाउँका स्थानीयसँग कायम भएको मितेरी सम्बन्ध पनि संकटमा छ । यहाँका कतिपय परिवारको सात/आठ पुस्तादेखिको सम्बन्ध अहिलेसम्म निरन्तर छ ।

उरै नाका बन्द भएपछि तिब्बतमा मौसमी रोजगारी गरेर आम्दानी गरिरहेकाहरू पनि बेरोजगार भएका छन् । कोरोनाअघि स्थानीयले मौसमी ज्यालादारी काम गरेर राम्रो आम्दानी गरिरहेका थिए । मालबाहक गाडी लोड/अनलोड गर्ने, ऊन केलाउने, भारी बोक्ने, केराउ, उवाबाली (जौ जस्तै उच्च हिमालमा फल्ने बाली) काट्ने तथा चुट्ने र निर्माणको काममा मजदुरी गर्न यहाँबाट प्रत्येक वर्ष युवाहरू ताक्लाकोट र आसपासका गाउँमा रोजगारीका लागि जाने गर्थे । कामको प्रकृति र दक्षता हेरेर दैनिक मजदुरी गरेबापत उनीहरूले १ सय ५० देखि तीन सय युयान (करिब दुई हजार पाँच सयदेखि पाँच हजार नेपाली रुपैयाँ) सम्म कमाउँथे । बर्खाका चार–पाँच महिना यहाँ मजदुरी गर्नेहरूले राम्रो रकम कमाउने गरेकामा नाका बन्द भएपछि आम्दानीको त्यो बाटो पनि बन्द भएको स्थानीय बताउँछन् ।

‘खर्च कटाएर एक सिजनमा चार–पाँच लाख रुपैयाँ कमाइ गर्थे । नाका बन्द भएपछि त्यो पनि रोकिएको छ,’ साइपाल गाउँपालिकाका पूर्वअध्यक्ष राजेन्द्र धामीले भने, ‘ताक्लाकोट खुला हुँदा गाउँमा कोही युवा पनि खाली हात हुन्थेनन् । अहिले त सब बेरोजगार भएका छन् ।’

सन १९६१ मा नेपाल र चीनबीच भएको सीमा सन्धिपछि पानीढलोका आधारमा सीमा छुट्याउने सहमति भएसँगै साल्सुगंगा (तिब्बत कर्णाली) सम्मको नेपालको ठूलो जमिन तिब्बततर्फ परेको थियो । यद्यपि सीमा सन्धिमा सीमा क्षेत्रमा बसोबास गर्नेहरूले परम्परागत गतिविधि गर्न स्थानीय प्रशासनले दिएको अनुमतिपत्रका आधारमा अर्को देशको ३० किलोमिटर क्षेत्रसम्म आवतजावत गर्न मिल्ने व्यवस्था छ ।

नाका खोलेर पूर्ववत् सञ्चालन गर्नुपर्ने भन्दै दबाब सिर्जना गर्न बझाङका स्थानीय तथा जनप्रतिनिधि अहिले दैनिक सिंहदरबार धाइरहेका छन् । उनीहरूले प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायतलाई भेटेर यो समस्याबाट पटक–पटक जानकारी गराएको भए पनि हालसम्म कुनै समाधान निस्किएको छैन । साभार कान्तिपुर दैनिकबाट

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.