कोरोना विशेष अस्पतालमा भएको अनियमितता र चोरीको विषयमा प्रहरीमा जाहेरी दर्ता

भरतपुुर । भरतपुुर महानगरपालिकाको अगुवाईमा स्थापना गरिएको भरतपुर कोरोना विशेष (अस्थाई) अस्पतालमा भएको अनियमितता र चोरीको विषयमा प्रहरीमा जाहेरी दर्ता भएको छ । भरतपुर महानगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित उपप्रमुखसहित वडाध्यक्ष, वडा सदस्य र कार्यपालिका सदस्यका तर्फबाट तीन जना वडाध्यक्षले किटानी जाहेरीसहित उजुरी दर्ता गरेका हुन् ।

अस्पतालमा भएको चोरीको विषयमा निष्पक्ष छानविन गर्न उनीहरुले महानगर प्रमुखसँग माग गर्दै आएका थिए । कोरोना अस्पतालको स्टोरबाट सामान बोकेर बाहिरिँदै गरेको सीसीटिभी फूटेज बाहिरिएपछि उनीहरु माथि कारवाहीको माग जनप्रतिनिधिहरुले गर्दै आएका थिए ।

फूटेज बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयले अस्पतालमा छापा मारेर कागजात लगेको छ । आफूहरुको माग सुनुवाई नभएको भन्दै जनप्रतिनिधिहरुका तर्फबाट वडाध्यक्ष चित्रसेन अधिकारी, चन्द्रमित्र पण्डित र दामोदर न्यौपानेले सामूहिक रुपमा उजुरी दर्ता गराएका हुन ।

सङ्क्रमितको शव नेपाली सेनाद्वारा व्यवस्थापन

कोभिड–१९ को सङक्रमणबाट मृत्यु भएका भरतपुर महानगरपालिका–११ का वृद्धको शव नेपाली सेनाको कालीबहादुर गणले व्यवस्थापन गरेको छ । सोमबार कोरोना पुष्टि भई आज बिहान भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका ६८ वर्षीय वृद्धाको शव भरतपुर महानगरपालिका–१ बागेश्वरी वन क्षेत्रमा व्यवस्थापन गरिएको हो ।

नेपाली सेनाले शवलाई भरतपुर अस्पतालबाट शववाहनमा राखेर लगेको थियो । कोरोना सङ्क्रमण देखिनुअघि मुटुको समस्याका कारण नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका मृतक गुरुङलाई पछि निमोनिया भई कोरोना संक्रमण देखिएको थियो । रासस

Facebook Comments