कर्मचारीले आत्महत्या गरेको अछाम घटनाको छानबिन गर्न माग

सुदूरपश्चिम प्रदेशसभा सदस्यले अछाम बयलपाटा अस्पतालका एक कर्मचारीले गरेको आत्महत्या घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न र मृतकका परिवारलाई रोजगारीको व्यवस्था गर्न सदन र सरकारको ध्यानाकर्षण गराएका छन ।

प्रदेशसभाको आज बसेको बैठकको शून्य समयमा बोल्ने प्रदेशसभा सदस्यले कोरोना भाइरसको सङ्कटको समयमा सबै क्षेत्र अस्तव्यस्त भइरहँदा बयलपाटा अस्पतालमा नोकरीबाट निकालिएका सरसफाइ कर्मचारी सिद्धार्थ आउजीले आत्महत्या गर्नुपर्ने अवस्था आउनु दुःखद भएको बताए।

उनीहरुले अस्पतालबाट निकालिएका सबै कर्मचारीलाई पुनरबहालीको पहल गर्न माग गरे । अस्पतालबाट अवकाश दिइएका कर्मचारी आउजीले शरीरमा पेट्रोल छर्केर आत्महत्याको प्रयास गरेकामा नेपालगञ्जमा उपचारका क्रममा सोमबार मृत्यु भएको जनाइएको छ ।

प्रदेशसभा सदस्यले कोभिड—१९ को सङ्क्रमण डरलाग्दो ढङ्गले फैलिँदासम्म सरकारको काम गर्ने तरिका कमजोर भएको टिप्पणी गर्दै रोगको रोकथामका लागि शङ्कास्पद व्यक्तिको आरडिटी परीक्षण रोकेर पिसिआर परीक्षणको दायरा बढाउन र क्वारेन्टिनमा बसेकाहरुको स्वास्थ्य सुरक्षामा ध्यान दिन, धान खेती गर्ने समय प्रदेशमा देखिएको रासायनिक मलको अभावको आपूर्ति गरी कृषकलाई उपलब्ध गराउनसमेत ध्यानाकर्षण गराए ।

शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का हर्कबहादुर कुँवर, अक्कलबहादुर रावल, अमरबहादुर साउद, कुन्ती जोशी, गेल्बुसिंह बोहरा, दुर्गाकुमारी कामी, नन्दबहादुर साउद र नेपालु चौधरीले भाग लिएका थिए ।

यसैगरी नेपाली काँग्रेसका अम्बीकुमारी थापा, उमाकुमारी बादी, कर्णबहादुर मल्ल, कुमारी नन्दा बम, गोविन्दराज बोहरा, डिल्लीराज पन्त र राष्ट्रिय जनता पार्टीका कृष्णबहादुर चौधरीले पनि भाग लिएका थिए । बैठकमा समाजिक विकासमन्त्री कृष्णराज सुवेदीले प्रदेश जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ टेबुल गरे । रासस

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.