‘कोरोना संक्रमणलाई सरकारले मजाकको रुपमा लियाे’

काठमाडौं । अस्पतालहरुले धमाधम कोरोना संक्रमित र आइसोलेसनमा बसेकाहरुलाई बिनाटेष्ट घर फर्कन थालेका छन् ।

आइतबार दाङस्थित कोरोना विशेष अस्पतालबाट १० जना कोरोना संक्रमित डिस्चार्ज भएका थिए, जसमध्ये ५ जना संक्रमितलाई बिनापरीक्षण घर पठाइएको थियो ।

यस्तै दैलेखमा आरिडिटीको परीक्षण गरेर घर पठाइएको ९५ जनामा नै कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआरको नतिजा लामो समयसम्म नआएपछि सरकारको निर्देशिका अनुसार ९५ जनालाई आरडिटी गरेर घर फर्काउँदा सबैजनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

क्वारेन्टिनमा बस्दा कुनै लक्षण नदेखिएका, कोरोना संक्रमण पुष्टि भएको दिनदेखि १४ दिनसम्म कुनै पनि लक्षण नदेखाउने र आइसोलेसनमा बसेको १४ दिन पुरा गरेर ३ दिनसम्म लक्षण नदेखाएकाहरुलाई अस्पतालहरुले धमाधम बिनाटेष्ट अस्पतालबाट बिदा गर्ने थालेका हुन् । र, यो सबै सरकारको पिसिआर किटको नयाँ परीक्षण निर्देशिकाको नतिजा हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ २० गते कस्तो व्यक्तिलाई कुन अवस्थामा पिसिआर विधिबाट परीक्षण गर्ने भन्ने एउटा परीक्षण निर्देशिका सार्वजनिक गर्यो ।

उक्त परीक्षण निर्देशिकाको ५ र ६ नम्बरमा क्वारेन्टिन– आइसोलेसनमा रहेका व्यक्तिलाई कस्तो अवस्थामा पिसिआर विधिबाट परीक्षण गर्ने भन्ने व्यवस्था गरिएको छ । यसमा उल्लेखित परीक्षण निर्देशिका पढ्दा यस्तो लाग्छ कि सरकारलाई कोरोना भाइरस संक्रमण मजाक लागिरहेको छ ।

निर्देशिकाको ५ नम्बरमा भनिएको छ– ‘लक्षण देखाउनेलाई आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गरिने र नतिजा नेगेटिभ आएको खण्डमा रोगको कारण पत्ता लगाई उपचार गरिने ।’

‘कुनै पनि लक्षण नदेखाएकाहरुलाई बिना कुनै टेष्ट घर पठाउने । तर हाल क्वोन्टिनमा रहेकाहरुलाई भने आरडिटी गराइने’ सो निर्देशिकामा उल्लेख छ ।

यस्तै, ६ नम्बरमा यस्तो भनिएको छ ‘कुनै पनि लक्षण नदेखाएका र १४ दिन आईसोलेसनमा बसेकालाई कुनै पनि टेष्ट आवश्यक पर्दैन ।’

‘आईसोलेसनमा १४ दिन पुरा गरेका कोरोना संक्रमितले ३ दिनसम्म लक्षण नदेखाई टेष्ट आवश्यक नपर्ने’ निर्देशिकामा उल्लेख गरिएको छ ।

सकेसम्म सबै व्यक्तिहरुको कोभिड–१९ को परीक्षण पिसिआर विधिबाट हुनु पर्ने माग चौतर्फी रुपमा आइरहँदा सरकार भने कोभिड–१९ संक्रमति पुष्टि भएको व्यक्तिलाई समेत परीक्षण नर्गेने नयाँ अवधारणमा गएको छ ।

नेपालमा धेरै कोरोना संक्रमित लक्षण विहिन

सरकाराले लक्षण विहिनहरुको पिसिआर विधिबाट परीक्षण नर्गेने भन्दै गर्दा नेपालमा अधिकांश संक्रमितहरु लक्षण विहिन रहेका छन् । संक्रमण रोग विशेषज्ञ तथा स्वास्थ्यविद्हरुका अनुसार नेपालमा अधिकांश कोरोना संक्रमितहरु लक्षण विहिन रहेका छन् ।

‘नेपालमा देखिएको कोरोना भाईरस अन्य देशकोभन्दा फरक नै भनेर म विश्लेषण् गर्दछु, हालसम्मको अनुसन्धान नतिजालाई आधार मान्ने हो भने ८१ प्रतिशतमा सामान्य लक्षणहरु देखिने, १४ प्रतिशतमा कडा लक्षण देखिने र ५ प्रतिशत संक्रमित क्रिटिकल अवस्थामा पुग्ने भन्ने हो, धेरै देशमा लक्षण नदेखाउने संक्रमितहरुको संख्या कम भइरहँदा नेपालमा भने अधिकांश संक्रमितमा लक्षण छैन, नेपालमा साईलेन्ट कोरोना छ,’ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन् ।

यस्तै जनस्वास्थ्यविज्ञ डा. रविन्द्र पाण्डे पनि नेपालमा धेरै मानिसहरु लक्षण विहिन भएको र सरकारले यस्ता मानिसहरुलाई कुनै पनि परीक्षणबिना घर पठाउँदा संक्रमण झनै बढाउने बताउँछन् ।

Facebook Comments