चिनियाँ सेना नेपाल आउनै लागेकै हो ?

काठमाडौँ । चिनियाँ सेना नेपाल आउने तयारी बारे भारतीय मिडियामा समाचार प्रकाशन भएसँगै राजनीतिक दल र संसदमा समेत यसबारे बहस सुरु भएको छ । कांग्रेस नेता विमलेन्द्र निधीले मंगलबार आयोजित एक सार्वजनिक कार्यक्रममा स्वास्थ्य सहयोगको वहानामा चिनियाँ सेना नेपालमा झार्ने तयारी भएको भन्दै त्यसको विरोध गरेका छन् ।

निधीले विभिन्न स्रोतबाट प्राप्त जानकारी उद्धृत गर्दै १५ सय चिनियाँ जनमुक्ति सेनाको टोली आउन लागेको खुलासा गरेका छन् । सरकारका यस्ता कदमले लोकतान्त्रिक अधिकार कुण्ठित बन्ने चिन्ता कांग्रेस नेता निधीले व्यक्त गरेका छन् । साथै कम्युनिष्ट शासन लाद्न खोजेको उनको आरोप थियो ।

भारतीय चर्चित पत्रिका ‘द हिन्दु’ले चिनियाँ सेना नेपाल आउने समाचार यही जुन ७ मा प्रकाशन गरेको थियो । द हिन्दुका अनुसार नेपालमा कोरोना महामारी बढिरहँदा मेडिकल सहायताका लागि भन्दै चिनियाँ जनमुक्ति सेना नेपालमा आउने तयारी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हालै भिडिओ कलमार्फत् चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओसँग चिनियाँ जनमुक्ति सेनाको मेडिकल टिमलाई नेपाल ल्याउने सम्भावनाबारे छलफल गरेको द हिन्दुको दावी छ ।

यसबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका एक नेताले संसदमै प्रश्न उठाएका छन् । नेपाली कांग्रेसका सांसद अतहर कमाल मुसलमानले स्वास्थ्य संकटकाल लगाएर चिनियाँ जनसेना नेपाल ल्याउन लागिएको बारे सरकारले जवाफ दिनुपर्ने भन्दै प्रश्न उठाएका हुन् । लकडाउन खुकुलो बन्दै जाँदा कोरोना भाइरसको संक्रमण रोकथाममा सघाउन मेडिकल टीमसँगै चिनियाँ सेना नेपाल आउने चर्चा भए पनि यसबारे सरकारले स्पष्ट पारेको छैन ।

Facebook Comments