चिनियाँ अर्थतन्त्र पुन: संकुचनतर्फ लाग्याे

काठमाडौं। गत फेब्रुअरीमा तीव्र गतिमा वृद्धि भएको चीनको कारखाना क्षेत्रको गति मार्चमा भने संकुचित भएको छ। कमजोर विश्वव्यापी माग र ओरालो लागिरहेको घरजग्गा व्यवसायबीच रूमल्लिएको चीनको अर्थतन्त्र गत महिना केही सुधारोन्मुख देखिएको थियो।

यो महिनाको तथ्यांकले चीनको उत्पादन क्षेत्रको रिकभरीमा शंका उत्पन्न गरेको छ।

चीनको राष्ट्रिय तथ्यांक ब्युरोका अनुसार चीनको म्यानुफ्याक्चरिङ पर्चेजिङ म्यानेजर इन्डेक्स (पीएमआइ) फेब्रुअरीमा ५२.६ बाट घटेर मार्चमा ५१.९ मा पुगेको छ। यो अंक अर्थशास्त्रीहरूले अनुमान गरेका ५१.५ भन्दा केही बढी हो, जसले गर्दा डलरको तुलनामा युआन पनि बलियो भएको छ।

कोभिड नियन्त्रणका कडा प्रतिबन्ध चीनले गत जनवरीमा खारेज गरेको थियो। सँगै आर्थिक गतिविधि सन् २०२३ को पहिलो दुई महिनामा बढेको थियो। उपभोग र पूर्वाधार लगानी र खुद्रा बिक्री वृद्धिका कारण आर्थिक गतिविधिले लय लिएको थियो।

उत्पादन गतिविधि मार्चमा सुस्त गतिमा विस्तार भए पनि चीनको यातायात, निर्माण लगायतका सेवा क्षेत्रमा भने लगभग १२ वर्षमा सबैभन्दा छिटो गतिमा गतिविधि विस्तार भएको छ। गत महिना कारखानाहरूमा उत्पादन एक दशक यताकै सबैभन्दा द्रुत गतिमा बढेको थियो। फेब्रुअरीमा ५६.३ रहेको गैर-उत्पादन पीएमआई मार्चमा ५८.२ पुगेको छ।

‍ग्लोबल फाइनान्सियल सर्भिस ग्रुप नोमुराका अर्थशास्त्रीहरूले यस तथ्यांकले चीनको अर्थतन्त्र ‘स्विट स्पट’मा रहेको संकेत गरेको बताए, ‘यद्यपि, बिग्रँदै गएको भूराजनीतिक तनाव र चीन बाहिर वित्तीय संकटको बीचमा, यो लामो समयसम्म टिक्न सक्दैन।’

चीनको निर्यात पनि कमजोर भएको छ। साथै चिनियाँ कम्पनीहरूले कमजोर माग, पुँजीको अभाव र उच्च सञ्चालन लागत लगायतका चुनौतीहरूको सामना गरिरहेका छन्। यी समस्याहरूलाई सम्बोधन गर्न आर्थिक पुनरुत्थानका लागि आधारहरू थप सुदृढ गर्न आवश्यक रहेको चीनको राष्ट्रिय तथ्यांक ब्युरोले जनाएको छ।

मुलुकको अर्थतन्त्र पुनरुत्थानका लागि चीनको केन्द्रीय बैंकले यो महिना अप्रत्यासित रूपमा बैंकहरूले पहिलो पटक रिजर्वका रूपमा राख्‍नुपर्ने नगद रकम कटौती गरेको छ।

हाल विश्वव्यापी बैंकिङ क्षेत्रमा आएको विश्वास संकटको असर चिनियाँ उत्पादनको मागमा पनि पर्न सक्ने भएकाले उत्पादकहरू अझ चिन्तित छन्।

यस हप्ताको आधिकारिक तथ्यांकले वर्षको पहिलो दुई महिनामा चिनियाँ औद्योगिक कम्पनीहरूको नाफामा आएको गिरावटलाई रिकभरीमा कमजोर सुरुवात भएको देखाएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.