गोरखा । चिनियाँ निर्माण कम्पनी चाइना कम्युनिकेसन्स कन्स्ट्रक्शन कम्पनी (सीसीसीसी)ले मर्स्याङ्दीको मूल प्रवाहमै अवैध रूपमा एक्साभेटर लगाएर ढुंगा, गिटी, बालुवा उत्खनन गरिरहेकाे छ ।
मुग्लिन पोखरा सडक स्तरोन्नतिको काम गरेको सो कम्पनीले नदीको प्राकृतिक संरचनामा नकारात्मक असर पर्ने गरी एक्साभेटर प्रयोग गरी मूल प्रवाहबाट ढुंगा, गिटी, बालुवा उत्खनन गरिरहेकाे हाे ।
साेही क्रममा सीसीसीसीकै देखासिकी गर्दै अरू निजी कम्पनीहरूले पनि नदीको मूल प्रवाहबाट अवैध रुपमा उत्खनन गरिरहेका छन्।
कम्पनीले तनहूँको आँबुखैरेनी गाउँपालिका-२ मार्किचोकघाटबाट ३९ हजार ४५७ घनफिट, रोधीखोलाबाट सात लाख छ हजार दुईसय र बरादीघाटबाट पाँचलाख ३६ हजार तीनसय ५८ घनफिट तथा वडा नं. १ को सत्रसय फाँटबाट तीन लाख ५७ हजार चारसय ५० घनफिट नदीजन्य सामग्री नदीको मूल प्रवाहबाट एक्साभेटर प्रयोग गरी धमाधम उत्खनन् गरिरहेको छ।
त्यस्तै गोरखाको पालुङ्टार नगरपालिकाको अवण्डा घाटबाट १८ सय तीन घनमिटर, मझुवा घाटबाट नौ सय ८२ घनमिटर, खोलाघाटबाट तीन हजार पाँच सय दुई घनमिटर, चनौटेघाटबाट एक हजार पाँच सय ७० घनमिटर नदीजन्य पदार्थ नदीको मूल प्रवाहबाट धमाधम उत्खनन गरिरहेको छ।
सोही कम्पनीले गोरखा नगरपालिका-१४ शाहघाटबाट एक लाख ४३ हजार ४६ घनफिट र भैसेटार घाटबाट ८६ हजार पाँच सय ९४ घनफिट ढुंगा, गिटी, बालुवा धमाधम एक्साभेटर प्रयोग गरी उत्खनन गरिरहेको छ।
पालुङ्टार र आँबुखैरेनीका घाटहरू सिधै सीसीसीसी कम्पनीले दोहन गरेको छ भने गोरखा नगरपालिकाका विभिन्न घाटबाट निजी कम्पनीले उत्खनन गरी ढुंगा, गिटी, बालुवा सीसीसीसी कम्पनीलाई उपलब्ध गराएका छन्।
आँबुखैरेनी गाउँपालिकाको कार्यालयबाट करिब एक किलोमिटर दूरीमा रहेको कुडुले घाटमा अवैध उत्खनन भएको छ। १७ हजार चार सय ९४ घनमिटर नदीजन्य पदार्थ उत्खनन् गर्ने गरी जिम्मा लिएको अभियान कन्ट्रक्शनले मर्स्याङ्दी नदीभित्रै एक्साभेटर प्रयोग गरेर उत्खनन् गरिरहेको हो।
