अझै कार्यविधिविपरीत तामाझामका साथ सुरक्षाकर्मी राख्दै पूर्वप्रधानमन्त्रीहरू

काठमाडौं । पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा कार्यविधिविपरीत खटिँदै आएका १ सय २० जना सुरक्षाकर्मी फिर्ता भएका छन्् । तर, पूर्वप्रधानमन्त्रीहरूले भने अझै पनि सरकारी कार्यविधि नाघेरै सुरक्षाकर्मीको दुरुपयोग गर्दै आएका छन् ।

सरकारले पूर्वप्रधानमन्त्रीदेखि पूर्वउपप्रधान तथा मन्त्रीहरूसहित अन्य विशिष्ट व्यक्तिको सुरक्षामा कार्यविधिविपरीत खटाइएका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेपछि केहीले भने त्यसरी खटिएका सुरक्षाकर्मी धमाधम फिर्ता गर्न थालेका छन् । कतिपय पूर्वविशिष्टहरूले आफैं सुरक्षाकर्मीलाई फिर्ता पठाएका छन् ।

यसरी सुरक्षाकर्मी फिर्ता गर्नेमा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीहरू रामचन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ, भीम रावल, कृष्णप्रसाद सिटौला, कमल थापा छन् । यस्तै, पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह र गोपालमान श्रेष्ठले पनि सुरक्षाकर्मी फिर्ता गरेका छन् ।

पूर्वगृहमन्त्री जनार्दन शर्मा र पूर्णबहादुर खड्काले पनि सुरक्षाकर्मी फिर्ता गरिसकेका छन् । उनीहरूले सशस्त्र प्रहरी प्रधान कार्यालयमा फोन गरेर नै सुरक्षाकर्मी फिर्ता पठाएका हुन् । यसैगरी, पूर्वमन्त्रीहरू रामशरण महत, शक्ति बस्नेत, गोविन्दराज जोशीलगायतले आफूसँग भएका दुई तिहाइ सुरक्षाकर्मी फिर्ता गरिसकेका छन् । यसरी फिर्ता भएका सुरक्षाकर्मीमध्ये धेरै सशस्त्र प्रहरीतर्फका छन् ।

गृह मन्त्रालयले कार्यविधिविपरीत पूर्वविशिष्टको सुरक्षामा ठूलो संख्यामा सुरक्षाकर्मी खटिएको र सुरक्षातर्फ अपुग भएपछि फिर्ता गर्ने गरी निर्णय गर्दै मन्त्रिपरिषद्मा कार्यविधि लगेको थियो । त्यसपछि गत ८ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्वविशिष्टको सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको थियो । गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सूर्य पथिकले मापदण्डविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णयपछि धमाधम सुरक्षाकर्मी फिर्ता हुन थालेको बताए ।

‘मापदण्डविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्ने मन्त्रिपरिषद्को निर्णयपछि सुरक्षाकर्मी फिर्ता गर्ने क्रम सुरु भएको छ । सरकारले सीमा सुरक्षामा सुरक्षाकर्मी बढाएसँगै धमाधम फिर्ता हुने क्रम जारी छ । पूर्वप्रधानमन्त्री र पूर्वराजाबाट पनि अब फिर्ता होला,’ गृहमन्त्रीका राजनीतिक सल्लाहकार पथिकले भने ।

सशस्त्र प्रहरीका डीआईजी एवं प्रवक्ता प्रवीणकुमार श्रेष्ठले पूर्वउपप्रधान, पूर्वगृहमन्त्रीबाट सुरक्षाकर्मी फिर्ता भएको र पूर्वप्रधानमन्त्री र पूर्वराजाबाट फिर्ता भएकोबारे जानकारी नरहेको बताए ।‘केही पूर्वउपप्रधान तथा पूर्वगृहमन्त्रीज्यूहरूबाट सुरक्षाकर्मी फिर्ता भएको जानकारी आएको छ तर पूर्वप्रधानमन्त्री र पूर्वराजाबाट फिर्ता भएकोबारे जानकारी छैन,’ डीआईजी श्रेष्ठले भने ।यो समाचार राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

Facebook Comments