‘सरुवा भएका कर्मचारी आजै आफ्नो नयाँ कार्यालयमा हाजिर हुनू’

काठमाडौं । सरुवा भएका कर्मचारीलाई आफ्नो नयाँ कार्यालयमा आजै हाजिर भइसक्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।

कर्मचारी सरुवा रोक्नका लागि सरकारलाई निर्देशन दिएको आयोगले यसअघि सरुवा भइसकेकाहरुका लागि तत्कालीन कार्यालयबाट रमाना भइ नयाँ कार्यालयमा हाजिर हुनका लागि आजसम्मको समय दिएको हो ।

आयोगले असोज ६ गते बिहीबार सरकारलाई कर्मचारीको सरुवा रोक्न निर्देशन दिएको थियो । त्यसअवधिसम्म सरुवा भइसकेकाहरुको हकमा नयाँ कार्यालयमा हाजिर गर्न आजसम्मका लागि समय दिएको थियो ।

आयोगले बिहीबारदेखि नै लागु हुनेगरी कर्मचारी सरुवा रोक्न र सरुवा भएका कर्मचारीलाई तत्काल रमाना दिन नेपाल सरकारलाई निर्देशन दिएको थियो । आकस्मिक सरुवा गर्नुपरेको अवस्थामा आयोगको सहमति लिनका लागि पनि निदेर्शन दिएको थियो ।

Facebook Comments