‘चोलेन्द्र शमशेरले खानसम्म घुस खाए’

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भू थापाले चोलेन्द्र शमशेर राणा सर्वोच्च अदालत आएकै वर्षदेखि ‘बेन्च सपिङ’ गर्ने गरेको आरोप लगाएका छन्।

बुधबार संसदीय समितिमा बोल्दै थापाले क्यासिनोहरूको मुद्दामा राणाले गरेको अन्तरिम आदेश लगायतमाथि प्रश्न उठाउँदै उक्त आरोप लगाएका हुन्।

थापाका अनुसार नयाँ लाइसेन्स लिनुपर्ने निर्देशिका आएको थियो। नयाँ लाइसेन्स लिँदा अगाडिदेखिको पैसा तिर्नुपर्ने नियम ल्याइएको थियो। क्यासिनोहरूले यसविरूद्ध सर्वोच्चमा रिट दिए।

‘त्यति बेला भर्खरै नियुक्त भएका चोलेन्द्र शमशेरकोमा उक्त मुद्दाको पेसी पारियो। त्यो बेन्च सपिङ थियो। आफ्नो पक्षमा फैसला गराउन प्रधानन्यायाधीश र न्यायाधीश किन्नेलाई बेन्च सपिङ भनिन्छ,’ थापाले भने, ‘क्यासिनोको रिटमा चोलेन्द्र शमशेरजीले पहिल्यैदेखि चलिआएको क्यासिनो भएकाले अन्तरिम आदेश हुने भन्दिनुभयो। उहाँलाई ल्याउनुहोस् न यहाँ! यहाँ आएर त्यसै खुरखुर गरेर ह्याह्या गरेर हुन्छ?’

उनले अगाडि भने, ‘घुस त यिनले खानसम्म खाए। अनि न्यायलाई मार्ने, राष्ट्रको ढुकुटी मार्ने।’

अहिले चोलेन्द्र शमशेरले एउटा दलको मन जित्ने कोसिस गरेको पनि थापाको आरोप छ, ‘चतुर छन् प्रधानन्यायाधीश। अहिले के खेल्दैछन्, एउटा राजनीतिक दलको मन जित्न सकेँ भने महाअभियोग लाग्दैनथ्यो कि भन्नेमा छन्।’

राणाबाट स्वतन्त्र न्यायालय बचाइदिन उनले संसदीय समितिलाई आग्रह गरे। उनले राणाविरूद्ध त मुद्दै लैजानुपर्ने अनि बल्ल न्याय हुने पनि बताए।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.