काठमाडौंको एक म्यानपावरमा छापा, ८७ थान पासपोर्ट जफत

काठमाडौं । वैदेशिक रोजगार विभागले काठमाडौंस्थित म्यानपावरमा छापा मारेर ८७ थान पासपोर्ट जफत गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको निर्देशनमा बिहीबार छापा मारिएको हो। सिनामंगलस्थित ह्वाइट हर्स रिक्रुटमेन्टमा छापा मार्दा अर्कै म्यानपावरका कागजात फेला परेपछि ८७ थान पासपोर्ट जफत गरिएको हो।

छापा मारिएको म्यानपावरमा अर्कै म्यानपावरमार्फत वैदेशिक रोजगारीको प्रक्रियाअगाडि बढाइएका पासपोर्ट भेटिएपछि विभागको अनुसन्धान अधिकृत हेमराज अर्यालसहितको टोलीले पासपोर्ट जफत गरेको हो।

उक्त म्यानपावरमा किङ फिस नामक म्यानपावरमार्फत मलेसिया रोजगारीको प्रक्रिया अगाडि बढाइएका पासपोर्ट भेटिएको अधिकृत अर्यालले बताए। त्यसरी कुनै म्यानपावर कम्पनीले अर्को म्यानपावर कम्पनीका कागजात प्रयोग गरेर वैदेशिक रोजगारीमा पठाउन नमिल्ने प्रावधान रहेको अधिकृत अर्यालले जानकारी दिए। उनकाअनुसार त्यस्तो कार्य गर्ने म्यानपावर कम्पनीलाई कारबाही हुन्छ।

ह्वाइट हर्स म्यानपावरले विज्ञापन प्रकाशनबिना नै मलेसिया रोजगारीमा जाने युवाहरूको अन्तर्वार्ता लिइरहेको भन्ने सूचनाका आधारमा विभागको टोली छापा मार्न पुगेको थियो। म्यानपावरले तोकिएकोभन्दा बढी शुल्कसमेत लिएको हुनसक्ने आशंका विभागले गरेको थियो। तर, छापा मार्दा त्यस्तो कुनै प्रमाण नभेटिएको अर्यालले बताए।

विभागले छापा मार्दा किङ फिस म्यानपावरबाट वैदेशिक रोजगारीका लागि भोलिको उडानमा २३ जना युवाहरू मलेसिया जाने तर्खरमा थिए। ती युवालाई विभागको टोलीले मलेसिया जान म्यानपावरलाई कति शुल्क दिएको भनेर सोधेका थिए। तर, उनीहरूले कुनै पनि शुल्क नबुझाएको जिकिर गरेका थिए। त्यस्तै म्यानपावरका कर्मचारीहरूले पनि उक्त म्यानपावरले फ्रि भिसा फ्रि टिकटमै मलेसिया पठाइरहेको दाबी गरेका छन्।

यस बारेमा विभागले थप अध्ययन गर्ने र तोकिएको भन्दा बढी शुल्क लिएको पाइएमा कानुनबमोजिम कारबाही गरिने अधिकृत अर्यालले बताए।

कतार पठाउन २५ लाखसम्म लिने गरेको गुनासो आएपछि विभागले बुधबार अल ताक्वेत ओभरसिज नेपाल प्रालिमा छापा मारेर कागजातहरू नियन्त्रण लिएको छ। उक्त म्यानपावरबारे अनुसन्धान जारी रहेको विभागले जनाएको छ। दुवै म्यानपावरलाई विभागले थप अनुसन्धान गरेर वैदेशिक रोजगार ऐन २०६४ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने बताइएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.