‘हिंसा छोड्दा विप्लव र राजतन्त्र छोड्दा थापालाई साथ दिनु आवश्यक छ’

काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरलले सूर्य चिह्न अरू दलले स्वीकार्नु सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल र नेपाल परिवार दलले आगामी स्थानीय चुनावमा सूर्य चिह्नबाट चुनाव लड्ने प्रसंगबारे बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले विखण्डनलाई छोड्दा सीके राउतलाई, हिंसालाई छोड्दा नेत्रविक्रम चन्द ‘विप्लव’लाई र राजतन्त्रलाई छोड्दा कमल थापालाई साथ दिनुपर्ने बताए ।

उनले लेखेका छन्-‘विखण्डनको वाटो छोड्दा सिके राउतलाई, हिंसा छोड्दा विप्लवलाई र राजतन्त्र छोड्दा कमल थापालाई साथ दिनु आवश्यक छ । निर्वाचनमा सूर्य चिन्ह अरुदलले स्वीकार्नु नेकपा (एमाले) प्रमुख राष्ट्रिय शक्तिका रुपमा स्थापित हुनु हो ।’

राप्रपा नेपाल र नेपाल परिवार दलले आगामी स्थानीय चुनावमा सूर्य चिह्नबाट चुनाव लड्ने भएपछि एमाले नेता भीम रावल लगायतका प्रश्न उठाएका थिए ।

Facebook Comments