काठमाडाैँ – पाकिस्तानमा इमरान खान सत्ताबाट बाहिरिन साथ चीनले बोली फेरेको छ।
चीनले पाकिस्तानसँगकाे सम्बन्ध खानभन्दा नयाँ प्रधानमन्त्रीकाे कार्यकालमा राम्राे हुने बताएकाे छ । पाकिस्तानको नयाँ प्रधानमन्त्रीकाे रुपमा शाहबाज शरीफ आएका छन् ।
चीनले भन्याे, ‘चीन र पाकिस्तान बीचको सम्बन्ध इमरान खानको कार्यकालको तुलनामा नयाँ प्रधानमन्त्री शरीफकाे कार्यकालमा राम्रो हुन सक्नेछ।’
चिनियाँ सरकारद्वारा सञ्चालित ‘ग्लोबल टाइम्स’ ले उक्त चीन र पाकिस्तानकाे सम्बन्धकाे विषयमा समाचार नै प्रकाशित गरेकाे छ ।
उक्त समाचारमा भनिएकाे छ,’चीन र पाकिस्तानका विश्लेषकहरूका अनुसार चीन-पाकिस्तानको सम्बन्ध आन्तरिक राजनीतिक परिवर्तनले प्रभावित हुने छैन। किनकि, चीनसॅंग द्विपक्षीय सम्बन्धहरूलाई दरिलो बनाउन पाकिस्तानमा सबै दलहरूको संयुक्त सहमति छ।’
समाचारकाे आशायलाई आधार मान्ने हाे भने चीनले पाकिस्तानमा आफ्नाे पकड जमाउन इमरान खानकाे घुमाउराे तवरले आलाेचना गर्दै नवनियुक्त पकिस्तानी प्रधानमन्त्री शरीफकाे गुणगान गरेकाे छ ।
चीनले पाकिस्तानमा आफ्नाे दबदबा कायम राख्नकाे लागि हरेक काेणबाट प्रयास गरिरहेकाे छ । इमरान खान सत्ताबाट बाहिरिन साथ चीनले नयाँ पाकिस्तानी प्रधानमन्त्री शरीफकाे पक्षमा सकरात्मक कुराहरु बाेल्नुका साथै समाचार नै प्रकाशन गर्न लगाइरहेकाे छ ।
‘ग्लोबल टाइम्स’ले प्रकाशित गरेकाे अर्को एउटा समाचारमा नयाँ प्रधानमन्त्री शरीफ परिवार लामो समयदेखि चीन र पाकिस्तान बीचको सम्बन्धहरूलाई दरिलो बनाउन इच्छुक रहेको उल्लेख छ ।
समाचारमा भनिएकाे छ, ‘ चीनको पारम्परिक राजनीतिक दलहरूको शासनकालमा दुवै देशबीच सम्बन्ध सुमधुर थियो।’
चिनियाँ विशेषज्ञहरूका अनुसार, इमरान खान पाकिस्तानको आर्थिक स्थितिलाई सम्हाल्न विफल रहेका हुनाले पद च्युत भएका हुन् ।
नवाज शरीफको नेतृत्वमा रहेको सरकारमा चीन-पाकिस्तान आर्थिक करिडोर अर्थात सीपीईसीको काम राम्ररी अगाडि बढ़ेको थियो।
चीनलाई इमरान खान व्यवहारप्रति आपत्ति थियाे । किनकि विपक्षमा छॅंदा उनी सीपीईसीको कट्टर आलोचक थिए। तर, साल २०१८ मा प्रधानमन्त्रीको कुर्सी सम्हालेपछि उनी यस परियोजनाको प्रशंसक बनेका थिए।
पाकिस्तानको राष्ट्रिय सभामा अविश्वासको प्रस्ताव सफल भएपछि प्रधानमन्त्री इमरान खान सत्ताबाट बाहिरिएका हुन् ।पाकिस्तानको इतिहासमा प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव सफल भएको यो पहिलो पटक हो ।
