बेइजिङ – चीनले कोरोना महामारी नियन्त्रणका लागि लिएको शून्य कोभिड नीति असफल देखिएको छ। सन् २०१९ को डिसेम्बर अन्तिममा देखिएको कोरोना महामारी नियन्त्रण गर्नका लागि चीनले निकै कडा लकडाउन र प्रतिबन्धात्मक नियमहरु जारी गरे पनि शून्य कोभिड हुन सकेन।
पछिल्लो समय चीनमा कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको छ। चीनको सबैभन्दा ठूलो सहर साङ्घाईले नयाँ भेरियन्ट ओमिक्रोनका कारण फैलिएको कोभिड–१९ रोक्न चरणवद्ध लकडाउन गरिएको छ। सोमबारदेखि सुरु भएको कोभिड परीक्षणको पाँच दिनका लागि यसको पूर्वी भागमा सुरूमा लकडाउन गरिने स्थानीय प्रशासनले जनाएको छ।
त्यस्तै, पश्चिमी भागमा १ अप्रिलदेखि लकडाउन हुनेछ। २ करोड ५० लाख जनसङ्ख्या भएको महानगर पछिल्ला दिनमा राष्ट्रव्यापी प्रकोपको प्रमुख केन्द्र बनेको छ।
चीनमा एकै दिन कोभिडका चार हजार ५०० संक्रमित देखिएको यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ। यो अघिल्लो दिनको तुलनामा एक हजार कम हो। संक्रमण बढेसँगै विभिन्न सहरमा लागू भएका लकडाउनका कारण दशौँ हजार चिनियाँ प्रभावित भएका छन्।
यसैबीच, रूसले युक्रेनसँगको युद्धमा आफूलाई एक्लाउने मुलुकका नागरिकलाई आफ्नो भूगोलमा प्रवेशमा समेत कडाइ गर्ने तयारी गरिरहेको रूसी विदेशमन्त्री सेर्गेई लाभारोभले सोमबार बताएका छन्।
