काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासले ५७ औं भारतीय प्राविधिक एवम् आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ । शिक्षामन्त्री देवेन्द्र पौडेल र प्रधानसेनापति प्रभुराम शर्माको आतिथ्यतामा दूतावासले ५७ औं आइटेक दिवस मनाएको छ ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतबाट उच्च शिक्षा तथा प्रशिक्षण लिएका आइटेकका पूर्व विद्यार्थीहरुलाई स्वागत गरेका थिए ।
राजदूत क्वात्राले विशेष अतिथि एवम् भारतीय सेनाका मानार्थ महारथीसमेत रहेका प्रधानसेनापति शर्मा र आइटेकका वरिष्ठ अलम्नाइ तथा जनकपुरस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. राम केवल साहलाई सम्मान गरेका थिए ।
राजदूत क्वात्राले आइटेक अन्तर्गतका विभिन्न प्रशिक्षण कार्यक्रमहरुमा नेपाल सबैभन्दा बढी सक्रिय रुपमा सहभागी हुने तथा प्रशिक्षण प्राप्त गर्ने मुलुक रहेको बताए ।
कोभिड–१९ महामारीको समयमा पनि नेपाली आइटेक विद्यार्थीहरुको निरन्तरतालाई सुनिश्चित गर्दै ई–आइटेक कोर्षमार्फत निर्वाध रुपमा प्रशिक्षण प्रदान गरेको भन्दै मन्त्री पौडेलले दूतावासको प्रशंसा गरेका थिए ।
स्थापना भएको ५७ वर्षको अवधिमा भारतले प्राविधिक एवम् आर्थिक सहकार्यमार्फत् भारतका विभिन्न प्रतिष्ठित संस्थानहरुबाट सूचना प्रविधि सम्बन्धी प्रशिक्षण प्रदान गर्दै आएको छ । नेपाली नागरिकहरुलाई विगत १५ वर्षदेखि आइटेक कोर्ष अन्तर्गत प्रशिक्षण दिइएको छ ।
Facebook Comments