भारत ७०० मेगावाट बिजुली किन्न तयार

काठमाडौँ । चिनियाँ लगानी र निर्माण कम्पनी परिचालन गरी नेपालमा बनाइएका बिजुली खरिद नगर्ने अडानमा रहेको भारत अन्ततः आफ्नो अडानबाट पछि हटेको छ । आज (बिहीबार) काठमाडौंमा आयोजित द्विदेशीय ऊर्जा सचिवस्तरीय बैठक (जोइन्ट स्टेरिङ कमिटी–जेसीसी) मा भारतले आगामी बर्खा यामअघि नै नेपालबाट ७०० मेगावाट बिजुली खरिद गर्ने प्रतिवद्धता जनाएको हो ।

बैठकपछि नेपालको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा बिजुली खरिद लगायत दुई देशबीच मौजुदा प्रसारणलाइन, निर्माणाधीन तथा प्रस्तावित अन्तरदेशीय प्रसारणलाइनहरू, अरुण–३ जलविद्युत आयोजना तथा प्रसारणलाइन आयोजना र अन्तरदेशीय विद्युत आयात÷निर्यात लगायत विषयमा छलफल भइ विभिन्न पाँच विषयमा सहमति बनेको उल्लेख छ ।

दुवै देशका ऊर्जा सचिवहरूले बैठकमार्फत पाँच बुँदे सहमति गरेका हुन् । हाल सञ्चालनमा रहेको पहिलो अन्तर्देशीय ढल्केबर–मुजफ्फरपुर ४०० किलो भोल्ट प्रसारणलाइनबाट आयात÷निर्यात भइरहेको विद्युत क्षमतालाई ३५० मेगावाटबाट वृद्धि गरी ६०० मेगावाट पुर्याउने पहिलो सहमति भएको छ । साथै, हेटौंडा–ढल्केवर–इनरुवा ४०० किलो भोल्ट प्रसारणलाइन डिसेम्बर २०२३ मा सम्पन्न भएपछि उक्त प्रसारण लाइनबाट आयात निर्यात हुने विद्युतको क्षमतालाई थप बढाउन पनि सहमति भएको मन्त्रालयले जानकारी दिएको छ ।

Facebook Comments