अमेरिकी सैन्य कारबाहीमा मारिए आइएसआइएसका नेता

एजेन्सी – संयुक्त राज्य अमेरिकाका सैनिकको कारबाहीमा मुस्लिम अतिवादी समूह आइएसआइएसका नेता अबु इब्राहिम अल-हासिमी अल कुरेसीको मृत्यु भएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार साँझ ट्वीट गर्दै आफ्नो निर्देशनमा अमेरिकी सेनाले उत्तर पश्चिम सिरियामा गरेको उक्त कारबाहीमा कुरेसीको मृत्यु भएको जानकारी दिएका छन्।

अमेरिकी सैनिकले उक्त कारबाही बिनाकुनै क्षति सफल बनाएको बाइडेनको भनाइ छ।

एक उच्च अमेरिकी अधिकारीलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले अमेरिकी सेनाको कारबाही सुरू हुनासाथ कुरेसीले आफूसँग भएको बम बिस्फोट गरेको उल्लेख गरेको छ। बम बिस्फोटमा उनीसहित उनका परिवार अन्य सदस्यको पनि मृत्यु भएको छ।

अमेरिकी कारबाहीका क्रममा महिला र बालबालिकासहित १३ जनाको मृत्यु भएको बताइएको छ।

दुई दर्जन अमेरिकी कमाण्डोहरूले बिहीबार हेलिकप्टरबाट उक्त कारबाही चलाएका थिए। उनीहरूले कुरेसी बसेको तीन तले घरमा कारबाही केन्द्रित गरेका थिए।

यसअघि सन् २०१९ मा आइएसआइएसका तत्कालीन नेता अबु बक्र अल बग्दादीलाई अमेरिकाले यस्तै कारबाहीमा मारेको थियो। बग्दादीको मृत्युपछि कुरेसीले आइएसआइएसको नेतृत्व सम्हालेका थिए। उनका बारेमा धेरै कुरा सार्वजनिक गरिएको छैन। विश्लेषकहरूले उनको मृत्युले उक्त संगठनलाई गम्भीर धक्का लाग्ने बताएका छन्।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.