काठमाडौं । भारतले नेपालसँगको सीमा विवादबारे आफ्नो धारणा नेपाल सरकारलाई जानकारी गराइसकेको बताएको छ । साथै संवादका लागि अन्तर सरकारी संयन्त्र उपयुक्त माध्यम भएको समेत उसले बताएको छ ।
काठमाडौंस्थित दूतावासले शनिबार प्रेसनोट जारी गर्दै सीमा विवादबारेका पछिल्लो विवादबारे भारत सरकारको धारणा सार्वजनिक गरेको छ । नेपाल–भारत सीमा विवादमा नेपालमा हालैका प्रतिवेदन र वक्तव्यका सम्बन्धमा सञ्चारमाध्यममा सोधिएका प्रश्नको जवाफ विज्ञप्तिमार्फत दुतावासले दिएको छ ।
दूतावासले नेपाल भारत सीमाबारे भारत सरकारको धारणा सर्वविदित, स्थिर र प्रष्ट भएको बताएको छ । त्यो धारणा नेपाल सरकारलाई जानकारी गराइसकेको भन्दै भारतीय दूतावासको प्रवक्ताको वक्तव्यमा भनिएको छ, ‘हाम्रो विचारमा स्थापित अन्तर सरकारी संयन्त्र र च्यानलहरु नै संवादका लागि उपयुक्त माध्यम हुन् ।’
साथै घनिष्ठ र मैत्रिपूर्ण द्वीपक्षीय सम्बन्धको भावनाका आधारमा सीमा सम्बन्धी विषय सम्बोधन गर्न सकिने समेत भारतीय दूतावासले बताएको छ । यसै महिना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय राज्य उत्तराखण्डको चुनावी ¥यालीलाई सम्बोधन गर्दै नेपाली भूमि लिपुलेकमा सडक विस्तार भैरहेको र सन् २०२२ अन्त्यसम्म त्यहाँ पक्की सडक बनाउने तयारी भैरहेको जनाएका थिए ।
Facebook Comments