कोरोना स‌ंक्रमितलाई आयुर्वेदिक औषधि

कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूलाई आयुर्वेदिक औषधि र जडीबुटी खुवाउने गरिएको छ । शरीरमा आत्मबल अभिवृद्धि गर्न सके कोरोना भाइरसलाई परास्त गर्न सकिने भनी चिकित्सकहरूले सल्लाह दिएपछि सङ्क्रमणबाट जोगिन अन्यले पनि आयुर्वेदिक औषधि र जडीबुटी खान थालेका छन् ।

गुर्जो र योगा
सङ्क्रमितको उपचारमा खटिनुभएका डा। डीना सापकोटाले एकान्तवासमा रहेका २९ जना बिरामीलाई अहिले आयुर्वेदिक औषधि, शारीरिक व्यायाम, आत्मबल वृद्धि गर्न मनोविर्मशलगायतका उपचार पद्धति अवलम्बन गरिएको जानकारी दिइन् । जिल्ला स्वास्थ्य कार्यालयका आयुर्वेद शाखाका आयुर्वेदिक चिकित्सक प्रसन्न नेपालले कोरोना सङ्क्रमण भएका व्यक्तिहरूको उपचारका लागि अहिले आयुर्वेदिक औषधि चलाइरहेको बताए । उनले बिरामीलाई रोगसँग लड्न प्रतिरोधात्मक क्षमता वृद्धि गर्न अस्वगन्धा, गुर्जो, षष्टिमधु, तुल्सी चियालगायतका औषधि दिनुका साथै योगा व्यायाम गराउने उल्लेख गरिन् ।

कोरोना सङ्क्रमणमा हालसम्म सुरक्षित हुम्लामा आयुर्वेदिक औषधि प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य सेवा कार्यालयअन्तर्गतको आयुर्वेद शाखाका कविराज कृष्णचन्द्र जोशीले कुट्की, जटामासी, पाँचऔँले, पदमचाल, रोहिता र लालीगुराँसबाट औषधि बनाएर तयार गरिएको बताउँदै कोरोना सङ्क्रमितलाई निःशुल्क उपलब्ध गराइने गरिएको बताए ।

दैनिक १० देखि १५ जना बिरामी शाखामा जाने गरेका छन् । उनले सो औषधिको प्रयोगले कुनै पनि असर नगर्ने हुँदा यसको प्रयोगकर्ताहरू पनि बढेको बताए ।

कोरोना भाइरस प्रतिरोधात्मक क्षमता बढाउन गुर्जोको प्रयोग गर्न थालिएको छ । प्रदेश आयुर्वेद औषधालय सुर्खेतका आयुर्वेद चिकित्सक डा।शङ्करप्रसाद रिजालले भाइरस सङ्क्रमण प्रतिरोधात्मक क्षमता बढी हुने भएकाले अहिले गुर्जोको माग बढेको बताए ।

औषधालयमा २ महिनाको अवधिमा करिब १ हजार जनाले गुर्जो प्रयोग गरेको तथ्याङ्क छ । यस अवधिमा ४० केजी गुर्जो बिक्री भएको छ । उनले औधालयमै आएर गुर्जोको लहरा लिएर झोल बनाएर खाने गरेको पनि बताए । आयुर्वेद चिकित्सक डा। रिजालले हिमाली जडीबुटी, गुर्जो, तुल्सीलगायत जडीबुटीबाट बनेको अमृतचिसा पनि लाभकारी भएको बताए ।

Facebook Comments