बढ्यो कोरोना संक्रमितको संख्याः मास्क नलगाउनेलाई १ सय र व्यवसायीलाई ५ हजार जरिवाना

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५६ जनामा कोरोना संक्रमण भएको छ। २ सय ९३ जनाको पिसिआर परीक्षण गर्दा ४९ र १ सय ३३ जनाको एन्टीजेन परीक्षण गर्दा ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा ३७, झापामा ५, सुनसरीमा ४, उदयपुरमा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण हो। मोरङको विराटनगरमा ३२, उर्लाबारी, सुनबर्षी, सुन्दरहरैँचा, पथरीशनिश्चरे र कानेपोखरीमा १–१, झापाको बिर्तामोडमा २, दमक, बाह्रदशी र कमल गाउँपालिकामा १–१, सुनसरीको इटहरीमा २, रामधुनी र हनिगरमा १–१, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण हो।

प्रदेशमा आइतबार ११ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ५ महिला र ६ पुरुष रहेका छन्। सक्रिय संक्रमितको संख्या २ सय ३० रहेको मन्त्रालयले जनाएको छ। प्रदेशमा पुस १८ देखि एक सातायता कोरोना संक्रमितको संख्या दैनिक बढ्दो रुपमा रहेको तथ्यांकबाट देखिन्छ। प्रदेशमा गत आइतबार ९ जना, सोमबार २७, मंगलबार १६, बुधबार २१, बिहीबार २३, शुक्रबार ४६ र शनिबार ४३ जना कोरोना भाइरस संक्रमित भएका छन्। एक सातामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रदेशको भारतसँग खुला सीमा नाकाका कारण कोरोना भाइरसको नयाँ भेरिएन्ट आउने उच्च जोखिम रहेको छ। खुला सीमाबाट सहज रुपमा दैनिक हजारौंको संख्यामा आवतजावत हुने गरेकाले कोरोनाको उच्च जोखिम रहेको हो।

विराटनगरलगायत जिल्लाका विभिन्न स्थानमा हुने गरेको सभा, गोष्ठी, बजारमा किनमेल गर्न आउने व्यक्ति, व्यवसायीलगायतले कुनै पनि स्वास्थ्य मापदण्ड पालना नगर्दा कोरोना फैलने त्रास निकै रहेको चिकित्सकहरु बताउँछन्।

सबै जनाले स्वास्थ्य मापदण्ड पालना गरे संक्रमण कम फैलने उनीहरु बताउँछन्। यता खुला सीमा, सीमा नाकामा जाँच नहुनु, भीडभाड, भौतिक दूरी कायम नगर्दा कोरोना संक्रमणको जोखिम बढ्दै गएको देखिएको छ। नेपाल–भारत सीमा नाका रानी भन्सारमा कुनै पनि स्वास्थ्य मापदण्ड अपनाएको पाइँदैन।

दैनिक हजारौं सर्वसाधारण आवतजावत गर्छन्। यसले गर्दा झन् जोखिम बढ्ने सम्भावना बढेको छ। मुख्य नाकाबाट विराटनगरको रानी नाका हुँदै दैनिक हजारौं व्यक्ति आवतजावत गर्छन्। भारतको जोगबनीबाट रानी नाका हुँदै शनिबार नेपाल प्रवेश गरेका ७९ जनाको परीक्षण गर्दा जनामा कोरोना पोजेटिभ देखियो। शुक्रबार ९० जनाको परीक्षण गर्दा २ जनामा पोजेटिभ देखिएको थियो भने बिहीबार ९१ जनाको स्वास्थ्य परीक्षण गर्दा ६ जनामा कोरोना पोजेटिभ देखिएको थियो।

विशेष गरी भारत बसेर नेपाल फर्किनेहरुको शंकास्पद अवस्था देखिएमा स्वास्थ्य जाँच गर्ने गरिएको छ। रानी नाकामा हेल्थ डेस्क भए पनि हजारौं व्यक्ति दैनिक आवतजावत गर्ने गरेकाले सबैको स्वास्थ्य जाँच गर्न नसकिएको रानी हेल्थ डेस्कका स्वास्थ्यकर्मी बताउँछन्।

मोरङ जिल्ला कोरोना सुरक्षा व्यवस्थापन समितिको आइतबार बसेको बैठकले माघ १ गतेदेखि लागू हुने विभिन्न निर्णयहरु गरेको छ। ओमिक्रोन भेरिएन्टको जोखिमलाई दृष्टिगत गर्दै स्वास्थ्य मापदण्ड उल्लघंन गर्ने पसल तथा व्यवसायलाई ५ हजार र मास्क नलगाउने नागरिकलाई १ सय रुपैयाँ जरिवाना गर्ने निर्णय मोरङ प्रशासनले जनाएको छ। जिल्लामा रहेका उद्योग, कलकारखाना र पसल व्यवसायलाई सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड पुस ३० गतेसम्म पालना गर्न आग्रह गरेको छ। स्वास्थ्य मापदण्ड पालना नगरेको पाइए माघ १ गतेदेखि जरिवाना गर्ने निर्णय गरिएको मोरङ प्रशासनका सूचना अधिकारी महेशराज तिम्सिनाले जानकारी दिए।

खुला सीमाका कारण भारतबाट कोभिडको संक्रमण फैलिन सक्ने कुरालाई ध्यान दिँदै सीमा क्षेत्रमा थप कडाइ र स्वास्थ्य मापदण्ड पालना गराउने बैठकले निर्णय गरेको छ। भारतबाट आउने र नेपालबाट भारत जानेले २४ घण्टाभित्रको पिसिआर परीक्षणको रिपोर्ट अथवा खोप लगाएको प्रमाण अनिवार्य गर्ने देखाउनु पर्ने र खोप नलगाएका व्यक्तिलाई सीमा क्षेत्रमै खोप लगाउने व्यवस्था मिलाउने सहमति समेत भएको मोरङ प्रशासनले जनाएको छ।

Facebook Comments