काठमाडौं । श्रीलंकाको एक सरकारी बैंकले चिनियाँ कम्पनीसँगको लामो विवाद समाधान गर्न शुक्रबार ४९८ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी गरेको छ।
चिनियाँ कम्पनी क्विङदाओ सिविन बायोटेकले श्रीलंकामा जैविक मलको ढुवानी गरेको थियो। उक्त मल श्रीलंकाली अधिकारीहरूले हानिकारक ब्याक्टेरिया पाइएको भन्दै चीन फिर्ता गरेका थिए।
त्यसपश्चात श्रीलंका सरकारको स्वामित्वमा रहेको कम्पनी सिलोन फर्टिलाइजर्सले भुक्तानी रोक्न उच्च अदालतको सहारा लिएको थियो।
कोलम्बोको वाणिज्य उच्च अदालतले क्विङदाओ सिविन बायोटेक ग्रुप कम्पनी लिमिटेडलाई ९६ हजार टन मलको कुनै पनि भुक्तानी गर्न प्रतिबन्ध लगाएको थियो।
गत वर्ष नोभेम्बरमा पीपुल्स बैंक अफ श्रीलंकालाई चिनियाँ दूतावासले भुक्तानी नगरेपछि कालोसूचीमा राखेको थियो। त्यसपश्चात दुवै देशबीच सम्बन्ध चिस्सिएको थियो।
समाचार एजेन्सी पीटीआईका अनुसार कोलम्बोको वाणिज्य उच्च अदालतले क्विङदाओ सिविन बायोटेकलाई भुक्तानीमा लगाइएको प्रतिबन्ध हटाएको छ। चिनियाँ कम्पनी र श्रीलंका सरकारबीच सम्झौता भएपछि अदालतले आफ्नो फैसला खारेज गरेको हो।
श्रीलंकाका अधिकारीहरूले आफ्नो सरकारलाई चीनले ठूलो दबाब दिएपछि रकम भुक्तानी गरेको दाबी गरेको छ। तर, उक्त मल नलिने उनीहरुले बताएका छन्।
Facebook Comments