भारतको सहयोगमा सर्लाहीमा दुई विद्यालय भवन निर्माण

काठमाडौं । भारतको अनुदान सहयोगमा सर्लाहीमा दुई नयाँ विद्यालय भवन निर्माण भएको छ ।

कविलासी–२ पिपरियास्थित ‘बाल गोविन्द जनता उच्च माध्यमिक विद्यालय’ र लालबन्दी–१ नेत्रगंजस्थित ‘जनता माध्यमिक विद्यालय’ का नयाँ विद्यालय भवन निर्माण भएको हो । दूतावासका अनुसार करिब दुई करोड ३० लाख रुपैयाँमा ती भवन निर्माण गरिएको हो ।
काठमाडौंस्थित भारतीय राजदूतावासकी नियोग उप–प्रमुख नामग्य खम्पाले ती भवनको उद्घाटन गरिन् । स्थानीय प्रतिनिधि, जिल्ला समन्वय समितिका अधिकारी, विद्यालय व्यवस्थापन समिति तथा स्थानीयबासीले उक्त उद्घाटन समारोहमा उपस्थिति रहेको थियो ।

श्री बाल गोविन्द जनता उच्च माध्यमिक विद्यालयको स्थापना सन् १९६० मा र श्री जनता माध्यमिक विद्यालयको स्थापना सन् १९६२ मा भएको हो । भारत सरकार, नेपाल सरकार र जिल्ला समन्वय समिति सर्लाहीबीच भएको सम्झौता अनुरुप उच्च प्रभाव सामुदायिक परियोजनाको रुपमा यस विद्यालय भवनको निर्माण भएको हो ।

भारत सरकारले सन् २००३ यता नेपालमा ५ सय २३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको दूतावासले जनाएको छ ।

‘हालसम्म ४ सय ६१ वटा परियोजनाको निर्माण सम्पन्न भइसकेको छ जसमध्ये सर्लाही जिल्लाका २० गरी प्रदेश–२ मा ५८ वटा छन् । यसका अतिरिक्त भारत सरकारले सर्लाहीका विभिन्न स्वास्थ्य चौकीलाई ३८ वटा एम्बुलेन्स र एउटा स्कुल बस उपलब्ध गराइसकेको छ,’ दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

भारत र नेपालबीच मित्रता र सहकार्यको विशिष्ट सम्बन्ध रहेको छ । दुई देशबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय विकास साझेदारी पनि रहेको छ । यस शैक्षिक पूर्वाधारको निर्माणले प्राथमिकता क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेका प्रयासमा थप बल प्रदान गर्न भारत सरकारले पु¥याउँदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।

Facebook Comments