चीनका आधा सहर डुब्ने खतरामा!

बेइजिङ । चीनका आधाभन्दा बढी सहरहरू जमिनमुनिको पानी तान्ने र विस्तारका कारण डुब्न सक्ने अनुसन्धाताले जनाएका छन् । केही सहरहरू ६ मा एउटा १० मिलिमिटरका दरले ठाउँ छाडिरहेको छ । चीनमा पछिल्लो दशकमा भएको व्यापक सहरीकरणका कारण बढीभन्दा बढी पानी जमिनमुनिबाट तान्ने काम भइरहेको छ ।

तटीय क्षेत्रका सहरहरूमा समुद्री तह बढेका कारण दशौँ लाख मानिसलाई चुनौतीको सामना गर्नु परिरहेको छ । चीनले लामो समयदेखि यसखालको समस्या व्यहोरिरहेको छ । १९२० को दशकमा संघाई र तियान्जीनमा यसखालको समस्या देखिइसकेको छ ।

बितेको शताब्दीमा संघाई तीन मिटरभन्दा बढी भासिएको मानिन्छ । आधुनिक समयमा पछिल्ला दशकमा विस्तार भएका सहरहरूमा पनि यसखाले प्रमाणहरू भेटिएका छन् । समस्याको स्केललाई बुझ्दा केही चिनियाँ विश्वविद्यालयका रिसर्चरले ८२ सहरको अनुसन्धान गरेका छन् । जसमा दुई मिलियनभन्दा बढी जनसंख्या छ ।

उनीहरूले सेन्टिनेल–१ भूउपग्रहमार्फत प्राप्त डेटाको प्रयोग गरेका छन् । देशभरिको भूमिलाई भर्टिकल ढंगले मापन गरेका थिए । सन् २०१५ र २०२२ को अवधिलाई हेर्दा ४५ प्रतिशत सहरी क्षेत्रमा तीन मिलिमिटरसम्म हलचल भएको छ । करिब १६ प्रतिशत सहरी भू–भाग १० मिलिमिटरभन्दा छिटो एक वर्षमा भासिएको वैज्ञानिकहरूले जनाएका छन् । यसको मतलब ६७ मिलियन मानिस रहेको स्थान तीव्र गतिमा भासिँदै गइरहेको छ ।

अनुसन्धाताका अनुसार, विभिन्न पाँच क्षेत्र खराब अवस्थामा देखिएको छ । यसो हुनुमा विभिन्न कारण छन् । त्यसमा भौगर्भिक कारण र भवनको तौल पनि पर्छन् । तर, मुख्य कारण भनेको जमिनमुनिको पानी सकिँदै जानु रहेको जनाइएको छ ।

यसो हुनुमा जमिनमुनिको पानी धेरै प्रयोग हुनु हो । यसखालको अवस्था विश्वका विभिन्न सहरी इलाकामा देखिएको छ । जसमा हाउस्टन, मेक्सिको र नयाँ दिल्ली पनि पर्छन् ।

चीनमा अनुसन्धाताले करिब १,६०० इनारको अनुगमन गरेका थिए । युनिभर्सिटी अफ इस्ट एन्ग्लियाका प्राध्यापक रोबर्ट निकोलसले भने, “मेरो विचारमा पानीको दोहन मुख्य कारण हो ।”

चीनमा धेरै भू–भाग त्यस्तो भौगोलिक अवस्थामा छ, जहाँ जमिन खन्नासाथै केही समस्या आउने गरेको छ । सहरी यातायात प्रणालीका कारण पनि यस्तो समस्या आउने गरेको छ । खनिज र कोइलाको खानीका कारण समेत समस्या आएको छ ।

उत्तरी क्षेत्र पिन्डिङसान देशको सबैभन्दा ठूलो कोइला क्षेत्र हो । सो क्षेत्रमा जमिन १०९ मिलिमिटर प्रतिवर्षका दरले हलचलमा छ । यो अध्ययनका लेखकका अनुसार, सहरी क्षेत्रमा बाढीको प्रकोपमा नागरिक पर्नुले पनि समस्या देखाउँछ ।

जलवायु परिवर्तनका कारण समुद्री सतह बढ्दै जानुले बाढीको समस्या आइरहेको छ । सन् २०२० मा चीनको करिब ६ प्रतिशत भाग समुद्री सतहभन्दा तल परेको थियो । १०० वर्षको समयमा २६ प्रतिशत भू–भाग मध्य वा उच्च कार्बन उत्सर्जनको अवस्थामा पर्नेछ ।

अनुसन्धाताका अनुसार, समुद्रको सतह जसरी माथि आउँदै छ, जमिनको भाग भने भासिँदै गएको छ । यी दुवै प्रक्रियाले १०औँ लाख मानिसलाई एकैपटक जोखिममा पुर्‍याउँदै गएको छ ।

केही प्रभावकारी प्रक्रिया अवलम्बन गरिएमा त्यसलाई कम गर्न पनि सकिनेछ । एसियाका अरू क्षेत्रमा पनि यसखालका समस्या देखिएका छन् जापानका ओसाका र टोकियो यसका उदाहरण हुन् । प्राध्यापक निकोलसका अनुसार, जापान २०औँ शताब्दीमा बन्दरगाह क्षेत्रमा करिब पाँच मिटर सरेको थियो ।

तर, १९७० को दशकमा उनीहरूले अरू क्षेत्रबाट पाइपमा पानी ल्याए । त्यसैगरी, उनीहरूकहाँ इनारको पानी प्रयोग नगर्ने कानुन पनि छ । बीबीसीबाट

Facebook Comments