वार्ता प्रस्ताव अस्वीकार गर्दै बारले घोषणा गर्‍यो थप आन्दोलन

काठमाडौं । प्रधानन्यायाधीश जबराले आफ्नो राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई शुक्रबार पत्र पठाएर वार्तामा आउन आग्रह गरेका थिए ।

शुक्रबार नै बसेको बारको बैठकले जबराले राजीनामा दिनुपर्ने अडान कायम राख्ने र वार्ता नगर्ने निर्णय गरेको छ । साथै आइतबार देशभरका अदालतमा कानुन व्यवसायीहरुले बहस पैरवी नगर्ने निर्णय गरेको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् ।

उनका अनुसार सोमबार संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई ज्ञापनपत्र र प्रधानन्यायाधीश जबरामाथिको आरोप पत्र बुझाइने छ । मंगलबार कानून व्यवसायीहरुले देशभरका अदालतमा कुनैपनि मुद्दा दर्ता नगरी सांकेतिक विरोध गर्नेछन् । तर हदम्यादको अन्तिम दिन भएका मुद्दा भने दर्ता गर्न छुट दिने निर्णय भएको छ ।

बुधबार केन्द्रीय बारबाट प्रतिनिधि पठाई उच्च अदालत केन्द्रित धर्ना हुनेछ भने बिहीबार र शुक्रबार सर्वोच्च अदालत केन्द्रित धर्ना हुनेछ । साथै सर्वोच्च अदालतमा प्रदर्शनलाई निरन्तरता दिने बार एशोसिएसनले बताएको छ ।

Facebook Comments