काठमाडौं । नेपाल बार एसाेसियसनकाे व्यापक विराेधपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा शर्तसहित राजीनामा दिन तयार भएका छन् ।
उनले न्यायालयमा व्यापक सुधारसहित राजीनामा दिन तयार रहेको तर त्यसका लागि आफ्नो शर्त सबै न्यायाधीशहरुले मान्नुपर्ने प्रस्ताव राखेका हुन् ।
स्रोतका अनुसार जबराले सर्वोच्च अदालतका सबै न्यायाधीशले राजीनामा दिनुपर्ने, उच्च अदालतमा तत्कालीन प्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ र सुशीला कार्कीको पालामा राजनीतिक भागवण्डाका आधारमा नियुक्त न्यायाधीशहरुले पनि सामूहि राजीनामा दिनुपर्ने सर्त सारेको बुझिएको छ ।
उनले आफूसहित बहालवाला न्यायाधीश, पूर्वप्रधानन्यायाधीश र न्यायाधीशहरुले पनि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने सर्त राखेका छन् ।
इजलास बस्न नमानेका न्यायाधीशहरुमध्ये केहीमार्फत् जबराले आफू न्यायालयको व्यापक सुधारका लागि तयार भएको र त्यसका लागि सबैले मार्ग प्रशस्त गर्नुपर्ने प्रस्ताव पनि पठाएको बुझिएको छ ।
स्रोतले प्रधानन्यायाशीश प्रस्ताव उल्लेख गर्दै भन्यो, ‘मार्ग प्रशस्त गर्ने भए सबैले सामूहिक राजीनामा दिऔ, उच्च अदालतमा यसअघि नियुक्त ८० जना र ११ जना न्यायाधीशहरुले पनि राजीनामा दिएर व्यापक सुधार गरौं ।’
जबराले आफ्नो प्रस्ताव मान्न सबै न्यायाधीश तयार भएमात्र आफू राजीनामा जाने स्पष्ट पारेको बुझिएको छ । अन्यथा कुनै हालतमा राजीनामा नदिने स्पष्ट पारेका छन् ।
