एजेन्सी : चीनले श्रीलङ्कामा जैविक मलको एउटा अर्डर रद्द भएपछि श्रीलङ्काको एउटा बैंकलाई कालोसूचीमा राखेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार चीनले जैविक मलको एउटा अर्डरको सम्भावनामा ‘दुर्भावनावूर्ण’ लेटर अफ क्रेडिट ‘डिफल्ट’ लाई उद्धृत गर्दै श्रीलङ्काको शीर्ष सरकारी बैंक पिपुल्स बैंक अफ श्रीलंकालाई कालोसूचीमा राखेको हो।
श्रीलङ्काले हालै चीनको एउटा कम्पनीलाई जैविक मलको अर्डर दिएको थियो तर मल दूषित पाइएका कारण श्रीलङ्काली अधिकारीले चीनबाट आएको खेप फिर्ता गरिदियो । यस्तै, लेटर अफ क्रेडिट दिने बैंकले कम्पनीलाई भुक्तानी गर्न अस्वीकार गरेको थियो । चीनको वाणिज्य मन्त्रालयले यो ‘डिफल्ट’ का कारण श्रीलङ्कासँग अन्तरराष्ट्रिय व्यापारमा चीनको उद्योगलाई ‘ठूलो हानी’ भएको बताएको छ ।
चीनको यो निर्णयको विषयमा श्रीलङ्कास्थित चिनियाँ दूतावासको एउटा ट्वीटको जवाफमा श्रीलङ्का पिपल्स बैंकले आफूले अदालतको आदेशको पालना मात्र गरिरहेको बतायो । यो आदेशमा बैंकलाई चिनियाँ कम्पनीलाई भुक्तानी गर्नका लागि रोकिएको थियो ।
बैंकले शुक्रबार एक बयान जारी गर्दै भन्यो, ‘कानूनी रोक हटेपछि सामान्य व्यापारिक तरिकाले लेटर अफ क्रेडिट भुक्तानी तुरुन्त प्रभावकारी हुनेछ । ’
अघिल्लो हप्ता श्रीलङ्काले जैविक मल ल्याउने एक चिनियाँ जहाजमाथि रोक लगाएको थियो । यसमा केही हानिकारक ब्याक्टेरिया पाइएको थियो ।
समाचार एजेन्सी एएफपीका अनुसार एक वाणिज्यिक उच्च न्यायालयले चिंगदाओ सिविन बायोटेक ग्रुप कम्पनी लिमिटेडलाई ९६,००० टन मलका लागि कुनै पनि भुक्तानीमाथि प्रतिबन्ध लगाइएको थियो ।
दुबै देशबीच चलिरहेको यो विवादबीच श्रीलङ्कामा कृषि संकट पैदा हुनसक्छ । अघिल्लो वर्ष मार्चमा नै श्रीलङ्काले अचानक रसायनिक मलको साटो जैविक मलको प्रयोग गर्ने निर्णय गरेको थियो ।











Facebook Comments