नक्कली सहीछाप गरी अर्काको जग्गा बेच्ने तीन जना जेल चलान

सुर्खेत । अर्काको जग्गा बेचिदिने तीन जनालाई कारागार चलान गर्न उच्च अदालत सुर्खेतले आदेश दिएको छ । उच्च अदालतले वीरेन्द्रगर सुर्खेतका सन्तोष ठाकुरसहित तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

उच्च अदालतका न्यायाधीश राजेन्द्र सुवेदी र राजेश्वर तिवारीको बिहीबारको संयुक्त इजलासले वीरेन्द्रनगर-२ भुरेलीका ठाकुरसहित, वीरेन्द्रनगर-५ का निर्मल पुरी र वीरेन्द्रनगर-२ का गोर्खबहादुर भन्ने गणेश बुढालाई कारागार चलान गर्न आदेश दिएको छ ।

उनीहरूले जग्गाका मालिक सौगात रावतको नक्कली सहीछाप गरी उनको जग्गा अर्कैलाई बेचेका थिए । रावतको उक्त सहीछाप विधि विज्ञान प्रयोगशालाबाट नमिलेको प्रमाणित भएको थियो ।

रावतको नाममा दर्ता भएको वीरेन्द्र नगर-१२ रहेको कित्ता नं ३१११ को जग्गामध्ये २०७७ असार १० गतेपछि ६ कित्तामा अर्कैको नाममा नामसारी गरेको खुलेको थियो । २०७७ पुस २९ गते जग्गाको नक्सा निकाल्ने क्रममा रावतका नामको कित्ता नम्बर नभेटिएपछि जग्गा अर्कैको नाममा नामसारी भएको खुलेको हो ।

ठाकुरसहितले सहवीर कार्कीको नाममा राजीनामा लिखित पारित गरी लिएपछि मालपोतका कर्मचारीसहित यो प्रकरणमा मुछिएका थिए ।

Facebook Comments