चीनको अघोषित नाकाबन्दीले समस्यामा व्यवसायी

रसुवा : कोरोना महामारी सुुरु भएपछि खुम्चिएको नेपाल–चीन व्यापार अझै सहज हुन सकेको छैन । कोटा प्रणालीमा सन्चालित आयात निर्यातलाई सहज बनाउन व्यापारीहरूले सरकारसँग पटकपटक आग्रह गर्दा पनि सुधार हुन सकेको छैन ।

नेपालको रसुवागढी नाकाबाट चीनले अहिले कोटा प्रणालीअनुसार दैनिक नौ कन्टेनर सामग्री पठाइरहेको छ । यो सामग्री निकै कम भएको व्यापारीहरूको गुनासो छ । व्यवसायी पुरुषोत्तम पौडेलका अनुसार चीनबाट नेपालतर्फ सहज रुपमा आयात नहुँदा अर्बौको सामान चीनमै रोकिएका छन् । दैनिक आयात हुने कोटा नबढेपछि तिहारका लागि मगाएको सामान तिहार अगाडी आउने सम्भावना नभएको उनको भनाइ छ ।

चीनबाट नेपाल आयात गर्ने १० भन्दा बढी ट्रान्सपोर्ट छन् । जसमध्ये मुसा ट्रान्सपोर्टको मात्रै ६ हजारभन्दा बढी सिबियम सामान चीनको केरुङमा रोकिएको पौडेलले बताए । ‘मैले मुसा ट्रान्सपोर्ट इन्टरनेशनल लजेस्टी केरुङका अफिस म्यानेजर जामिलसँग फोनमा कुरा गरेको थिए । उनले व्यापारीले छिटो सामान पठाउन दबाब दिइरहेको छन्,’ उनले भने, ‘तर, पर्याप्त सामान पठाउन नसकेको उनले बताएका छन् । यस्तै अवस्था रहे अब नयाँ सामानको डेलिभरी पनि रोक्ने उनले बताए ।’

उनले बिल्टीको डेट हेरी नयाँ सामान रोकी पुरानो सामान पठाएको बताएको व्यापारी पौडेलले बताए । उनले भने, ‘चिनियाँ एउटा गाडीमा ६० देखि ६५ सिबियम सामान नेपाल आउँछ, ट्रासपोर्टहरूको सामान धेरै छ, कसको सामान टाइममा आइपुग्ला भन्ने ठेगान छैन ?’

चीनको केरुङबाट रसुवागढी नाकासम्म सामान ल्याउने ४६ वटा चिनियाँ कन्टेनर छन् । जसमध्ये दैनिक नौवटा चिनियाँ कन्टेनरले सामान ल्याइरहेका छन् । सिजनअनुसारको सामान ल्याए पनि तोकिएको समयमा सामान नेपाल आइनपुगेको व्यवसायीहरूले बताएका छन् । पौडेलले भने, दसैंको सामान तिहारपछि र जाडोको सामान गर्मीमा आउँछ, सिजनअनुसारको सामान ल्याउन समस्या भएको छ ।’

चीनको सामान नेपाल आइपुग्न कम्तीमा तीन महिना
कोरोना संक्रमणअघि सयभन्दा बढी नेपाली कन्टेनरमा सामान नेपाल आयात हुने गरेको थियो । व्यवसायीहरूका अनुसार चीनको गोन्जाओबाट ल्याएको सामान नेपालमा २० देखि २३ दिनभित्र आइपुग्छ । तर अहिले नेपाल सामान आइपुग्न तीन महिनाभन्दा बढी लाग्ने गरेको छ ।

सरकारले भने अहिले नाकामा भइरहेको समस्या समाधानको पहल भइरहेको जनाए । रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद रेग्मीका अनुसार नाकाबाट सहज रुपमा सामान आयात बढाउन पहल भइरहेको छ । चिनियाँ पक्षसँग सीमास्तर तथा उच्च स्तरबाट पहल भइरहेको छ । उनले चीनले राखेको कोटा प्रणाली हटाउने, हुक एण्ड ड्रप प्रणाली लागु गर्ने लगायतका बिषयमा पहल भइरहेको जानकारी दिए ।

Facebook Comments