रुपन्देहीमा झण्डै एक हजार ‘पेट्रोल बम’ भेटिएको प्रहरीको दाबी

बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा झण्डै एक हजार बोतल ‘पेट्रोल बम’ र घरेलु हतियारहरु फेला परेको सशस्त्र प्रहरीले दाबी गरेको छ ।

प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा सुकुम्बासीको नाममा टहरा बनाउने समूह र प्रहरीबीच आइतबार चारजनाको ज्यान जाने गरी झडप भएको थियो।

घटनास्थलमा चलाएको सर्च अभियानका क्रममा झण्डै एक हजार थान बियर र मदिराका बोतलमा पेट्रोल, सिसा र फलामका टुक्रा भरेको अवस्थामा फेला पारेको सशष्त्र प्रहरीले जनाएको छ ।

घटना भएका स्थानहरु रानीगन्ज, मगरघाट पुल मुनिको बगर र हरिहरगन्जमा खोजतलास गर्दा तयारी अवस्थामा राखिएका पेट्रोल बम र हसिया,भाटा लगायत घरेलु हतियारहरु फेला परेको प्रहरीको भनाइ छ ।

गत आईतवार मोतिपुर औधोगिक करिडोरको जग्गा कब्जा गरेर बसेकाहरुलाई हटाउने क्रममा प्रहरी र अतिक्रमणकारी बिच झडप भएको थियो । झडपमा अतिक्रमणकारीहरुले प्रहरी माथि पेट्रोल बम प्रहार गरेका थिए ।

झडपमा नेपाल प्रहरीका ३३ र सशस्त्र प्रहरीका २३ जना गरी ५६ जना सुरक्षाकर्मी घाइते भएकामा १० जना गम्भीर घाइते भएका थिए । झडपमा परी १८ जना सर्वसाधारण घाइते भएको प्रहरीले जनाएको छ । घटनाको निष्पक्ष छानवीन गर्न मानव अधिकार तथा शान्ति समाज लगायतका संस्था र प्रमुख विपक्षी दल एमालेले माग गरेका छन् ।

Facebook Comments