ईयूद्वारा डब्ल्यूएचओबारे अमेरिकालाई निर्णयमा पुनः विचार गर्न आग्रह

वासिङटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सँग अमेरिकाले सबैखाले सम्बन्ध तोडेको घोषणा गरेका छन्। विश्वमा फैलिएको कोविड १९ को विषयलाई लिएर अमेरिका र संगठनबीचको सम्बन्ध चिसिएको थियो। राष्ट्रपति ट्रम्पले स्वास्थ्य संगठनले अमेरिकाको नभएर चीनको मात्रा भाषा बोलेको आरोप लगाउँदै आएका थिए।

ट्रम्पले उक्त संगठनसँगको सम्बन्ध तोड्ने जानकारी दिँदै कोविड संक्रमण फैलिनबाट रोक्न विश्व स्वास्थ्य संगठन असफल भएको आरोप पनि लगाएका छन्। राष्ट्रपति ट्रम्पले गत महिनामात्र पनि अमेरिकाले स्वास्थ्य संगठनलाई दिँदै आएको आर्थिक सहयोग रोक्ने चेतावनी दिएका थिए।

शुक्रवार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भने, ‘चीनले वर्षेनि स्वास्थ्य संगठनलाई ४ करोड अमेरिकी डलर बराबरको सहायता दिँदै आएको छ तर उक्त संगठनमाथि चीनले नै नियन्त्रण जमाएको छ।’

उनले अमेरिकाले स्वास्थ्य संगठनलाई वर्षेनि ४५ करोड अमेरिकी डलर बराबरको आर्थिक सहायता दिँदै आएको जानकारी दिए। तैपनि उक्त संगठनले अमेरिकाको आवाज बोल्न नसकेको उनको आरोप छ।

उक्त संगठनलाई व्यापक सुधार गर्न अमेरिकाले अनुरोध गरे पनि ऊ असफल भएको आरोप पनि राष्ट्रपति ट्रम्पले लगाए। ट्रम्पले भने, ‘त्यसैले पनि हामीले आजबाट विश्व स्वास्थ्य संगठनसँगको सबै खालको नाता तोड्दै छौँ।’

यस घोषणासँगै राष्ट्रपति ट्रम्पले डब्ल्यूएचओलाई अमेरिकाले दिँदै आएको बराबरको आर्थिक सहयोगको रकम अबदेखि विश्वमा जनस्वास्थ्यका क्षेत्रमा लगाउने पनि जानकारी दिए। अमेरिका विश्व स्वास्थ्य संगठनको सबैभन्दा ठूलो दाता राष्ट्र हो। ट्रम्पले चीनबाट शुरु भएको कोविड संक्रमण विश्वभर फैलिनु र जनधनको ठूलो क्षति हुनुमा उक्त संगठनलाई दोषी देखाएका थिए।

अमेरिकाले विश्व स्वास्थ्य संगठनमा विस्तृत रूपमा सुधार गर्ने भनेको तैपनि उक्त संगठनले नमानेको आरोप ट्रम्पको छ। यसअघि पनि उनले चीनले शुरुमा कोविड पत्ता लाग्नासाथ सही सूचना लुकाएको आरोप लगाएका थिए।

अमेरिकाले उक्त भाइरसको प्रकोप फैलिएदेखि नै यसको कारण पत्ता लगाउन स्वास्थ्य संगठनले विशेषज्ञहरूको टोली चीन पठाउनुपर्ने माग राख्दै आएको छ। त्यस मागप्रति चीन र स्वास्थ्य संगठन सकारात्मक छैनन्। कोविडबाट विश्वमै सबैभन्दा बढी प्रभावित देश अमेरिका हो। अमेरिकामा एकलाख भन्दा बढीको ज्यान गएको छ भने १७ लाखभन्दा बढी नागरिक संक्रमित छन्।

पुनः विचार गर्न आग्रह

यूरोपेली संघ (ईयू) का प्रमुख कार्यकारी अधिकारीले स्वास्थ्य संगठनबारे अमेरिकालाई निर्णयमा पुनः विचार गर्न आग्रह गरेका छन्। शनिवार डब्लूएचओलाई सहयोग निरन्तर रहने बताएका छन्।

यूरोपेली आयोगका अध्यक्ष उर्सुला भोन देन लेयन र ईयूका विदेश तथा सुरक्षा नीति मामिला उच्च प्रतिनिधि जोसेप बोरेलले विज्ञप्ति जारी गरेका छन्, ‘डब्लूएचओले महामारीको अन्तरराष्ट्रिय व्यवस्थापनको जिम्मेवारीलाई अहिले र भविष्यमा पनि निरन्तरता दिनुपर्छ। यसका लागि सबैको सहभागिता र सहयोगको आवश्यकता हुन्छ। विश्वव्यापी संकटबीच सहकार्य बढाउँदै साझा समाधानको पहल हुनु जरुरी छ। अन्तरराष्ट्रिय नतिजा कमजोर पार्ने कुनै पनि कार्यलाई रोक्नुपर्छ।’

महामारीसँग जुझिरहेका समय सबैको प्रमुख काम मानिसको ज्यान जोगाउने र महामारी नियन्त्रणमा राख्ने र अन्त्य गर्नु हुनेछ।

Facebook Comments